![]()
चैत्र२७ काठमाडौं । खाडी मुलुकमा कामदारको अवस्था बुझेर फर्किएको व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितको निर्देशनपछि वैदेशिक रोजगार विभागले महिलालाई कामका लागि खाडी नपठाउने भएको छ ।
विभागले घरेलु काममा जाने महिलालाई श्रम स्वीकृति नदिने भएको हो । विभागले सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति र पुनः श्रम स्वीकृति बन्द गरेको विभागकी प्रवक्ता रमा भट्टराईले जानकारी दिइन् ।
श्रम समितिले घरेलु कामदारका विषयमा ठोस कानुन बनाएर नेपालसँग श्रम सम्झौता नगरेसम्म घरेलु कामदारका रूपमा महिलालाई खाडी नपठाउन निर्देशन दिएको थियो ।
घरेलु कामदारका रूपमा महिलाहरू बेचिएको र खाडीमा बन्धक भएर बस्नुपरेको तथ्य श्रमसमितिले फेला पारेपछि सरकारलाई अवस्थाबारे जानकारी गराउँदै महिलालाई घरेलु काम गर्न विदेश नपठाउन निर्देशन दिएको थियो ।


