![]()
लामो समयपछि आइतबार बस्न लागेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको प्रमुखको नियुक्ति र उपप्रधानमन्त्रीको मर्यादाक्रमको विवादको समेत टुङ्गो लगाउने तयारी रहेको एकजना मन्त्रीले बताएका छन्।
बैठकले मुख्य रुपमा संसदमा पठाउन संविधान संशोधनको नयाँ विधेयक अनुमोदन गर्ने लक्ष्य लिएको बताइएको छ।
आगामी वैशाख ३१ गते हुने स्थानीय चुनावमा मधेशी मोर्चालाई समेटने उपायको खोजीमा रहेका प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनको नयाँ विधेयक तयार गरिसकेको बताइसकेका छन्।
अपेक्षा
त्यो पारित गर्ने भनिएको आइतबारको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिबारे पनि निर्णय गर्ने कानूनमन्त्री अजयशंकर नायक अपेक्षा गरे।
उक्त प्रकरणमा सर्वोच्च अदालतको आदेश पाएको सरकारले लिने निर्णयबारे कानूनमन्त्री नायक भन्छन्, “एउटा समीक्षा सहित गृहकार्य भइरहेको छ र सर्वोच्च अदालतको आदेशलाई पनि मध्यनजर गर्दै आइतबार त्यस विषयमा निर्णय आउनसक्छ”।
तीन सातापछि मन्त्रिपरिषद्को बैठक बस्न लागेको छ।
विवाद
उपप्रधानमन्त्रीको मर्यादाक्रम विवादकै कारण पनि बैठक बस्न नसकेको बताइएको थियो।
प्रधानमन्त्री त्यसको पनि छिनोफानो गर्ने निष्कर्षमा पुगिसकेको कानूनमन्त्री नायक बताउँछन्।
सरकारले सर्वोच्च अदालतको आदेशपछि पनि प्रहरी प्रहरी प्रमुख नियुक्त नगर्दा र उपप्रधानमन्त्रीबीचको मर्यादाक्रम विवादका कारण चर्को आलोचना खेपिरहेको छ।


