Breaking News.... EverestOnlineKhabar
April 20, 2026

केपी ओलीको चिन्ता गर्ने प्रदीप पौडेललाई मेरो खुल्ला चुनौती

Loading

– रश्मि आचार्य
हामीलाई याद छ, २०६२ को आन्दोलनमा ‘हामीले गणतन्त्र जिन्दावाद, राजतन्त्र मूर्दावाद भनी नारा लगाउँदा प्रदीप पौडेलजस्तै कांग्रेसका केही नेताहरुले हाम्रो मुख थुन्न आएको । तीनै मित्रहरुको यस्तो कुतर्क सुन्दा लाग्छ, ब्यंग आफैलाई गरिरहेका छन् कि अरुलाई ? नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीलाई सम्बोधन गरी नेपाली काँग्रेसका युवा नेता प्रदिप पौडेलले कान्तिपुरमा लेखेको खुल्ला पत्रमा ध्यान गयो । पत्र नेकपा एमाले र केपी ओलीप्रति ग्वयबल्स शैलीमा प्रेशित आरोपहरुको बकपत्र जस्तो लाग्यो । झुठ्ठा दलिलहरुको पुलिन्दा बुनेर शब्दजालको खेती गरी जनतामा भ्रम छर्नु एउटा आशावादी युवाको लागि सुहाउने सन्दर्भ थिएन । सत्य तथ्यलाई नकारेर झुटको खेती भएकोले त्यसको बारेमा केही भन्न अपरिहार्य लाग्यो । स्पष्ट पारौं, ओलीलाई देवत्वकरण गर्ने वा उहाँको तर्फबाट प्रष्टीकरण दिने मनसायले यो लिखत कोरेको होइन । एमाले कार्यकर्ता मात्र नभइ सचेत नागरिक जो कसैले एउटा जिउँदो इतिहासको अपब्याख्या र कत्लेआम हत्या टुलुटुलु हेर्न सक्दैन । त्यसैले आफ्नै मनको आवाज सम्पे्रषण गरेको छु ।
शुरु गरौं, स्थानीय निर्वाचनको सन्दर्भबाट । केपी ओली सरकारको कार्यसूचीमा स्थानीय निर्वाचन नरहेको र माके–नेका गठबन्धनको सरकार नबनेको भए चुनाब हुँदैनथ्यो भनेर दिउँसै अँध्यारो बनाउने प्रयत्न देख्दा ज्यादै टीठ लाग्यो । हजारौ तथ्यहरु भन्छन्– २०७४ माघ ८ सम्म तीन तहको निर्वाचन सम्पन्न गर्ने कार्यसूची बनाई संसद सचिवालयमा दर्ता गर्ने र प्रधानमन्त्री छोड्ने बेलाको संसदको अन्तिम सम्बोधनमा यी निर्वाचनको भविश्य के हुन्छ ?भनेर प्रश्न खडा गर्ने उनै केपी ओली हुन् । प्रमुख प्रतिपक्षी बेञ्चबाट निरन्तर स्थानीय निर्वाचनको आवाज उठाउने र जति सक्दो छिटो निर्वाचनको मिति घोषणा गराउन दबाब दिने पार्टी एमाले नै हो । बरु कहिले बेमौसमी संविधान संशोधनको प्रस्ताव ल्याएर त कहिले मधेश केन्द्रीत दलहरुलाई देखाएर अनेक वाहनामा निर्वाचन सार्ने सुनियोजित चालबाजी सरकारले रच्यो । छ महिना अगावै निर्वाचन गराउँदा एमालेले अझ राम्रो नतिजा ल्याउने देखेर सत्तापक्ष चुनावदेखि डरायो । एमालेकै भगिरथ प्रयत्नले गर्दा कुर्सीदौडमा लिप्त सत्ताधारीहरु निर्वाचनको दौडमा आउन बाध्य भएका हुन् ।
दोस्रो सन्दर्भ,‘राष्ट्रिय एकता र सद्भावको बाधक’‘साम्प्रदायीक धु्रवीकरणको प्रतिक’ भनेर ओलीलाई लगाउन खोजिएको आक्षेप वास्तविक नेपाली मनको आवाज होइन । देशको भलो चिताउनेले यस्तो आक्षेप लगाउन सक्दैन । चौतर्फी आक्रमण भएर देशको स्वाभिमान लुलो भएको र नाकाबन्दीले देश थिलिएको बेला देशभक्तिको चिराग थाम्ने अभियन्ता आम जनताले ओलीलाई मान्यो । देशको आत्मविश्वास फर्काउने आशा, भरोसा र विश्वासको अगुवा उनैलाई ठान्यो ।‘एक मधेश एक प्रदेश’ बनाएको भए के मधेशमाथि न्याय हुन्थ्यो ? यो अडान लिएर एमालेले के गलत ग¥यो ? काठमाडौंसंग तराई जोड्ने फास्ट ट्रयाक आफै बनाउने कदमले के मधेश र पहाडको विचको सम्बन्ध चिसियो ? मधेशमा अत्यधिक बजेट छुट्याएर ओली सरकारले के कमजोरी ग¥यो ? यीनै अविचलित अडान र दुरदर्शी दृष्टिकोणले नै राष्ट्रिय एकतालाई सुदृढ बनाएकोछ । यसबाट कहाँ साम्प्रदायीक धु्रवीकरण बढ्यो ? सामाजिक सद्भावमा आँच पुग्यो ? मधेशलाई सधै आफ्नो विर्ता ठान्ने तर मधेशी जनतालाई कहिल्यै न्याय नदिने निश्चित तप्काबाहेक हिमाली, पहाडी र मधेशी कसले यस कार्यलाई गलत भन्यो ? मेची महाकाली अभियानबाट तराईमा आफैं परिक्षित हुन चाहेको एमालेलाई अलोकतान्त्रीक तरिका अपनाएर किन रोकियो ? यसको बढ्दो प्रभावबाट अत्तालिएर होइन र ? एमालेलाई दोषीकरार गरि सृजित तरलता र भड्किदो मनेविज्ञानको जगमा मधेशमा शक्ति आर्जन गर्न सकिन्छ कि भन्ने कुत्सीत मनसाय यसमा प्रस्टै देखिन्छ । यसर्थ यस्तो आक्षेप एमालेको लोकप्रियताबाट त्रसिद मानसिकताको उपज बाहेक अरु होइन ।
तेस्रो सन्दर्भ, २०६२–६३ को आन्दोलन र गणतन्त्र स्थापनामा सहयोगिको भनी हाँस्यास्पद तर्क गरिएको छ, यस्तो पुङवाङ्गे कुराको धेरै खण्डन जरुरी नै छैन । जसले जन्मेदेखि गणतन्त्रको लागि लड्यो, बर्षौ जेल जिवन वितायो, उसैलाई खुट्टो कमाएर लतालिएर गणतन्त्रमा आएकाहरुले सहयोगी देख्नु इन्द्रको अगाडि स्वर्गको बखान भएन र ? तोते बोलीको कान्छो नातिले परिवारको तीनपुस्तेबारे हजुरबुवालाई बताउनु र काँग्रेसले गणतन्त्रको ब्याख्या गर्नु उस्तै उस्तै हो । जन्मजात गणतन्त्रवादी कम्युनिष्टहरुलाई कांग्रेसले गणतन्त्र स्थापनामा आफ्ना सहयोगी भन्नु हुटिट्याउँले आकाश थामेको ठान्नु जस्तै हो । हामीलाई याद छ, २०६२ को आन्दोलनमा‘हामीले गणतन्त्र जिन्दावाद, राजतन्त्र मूर्दावाद भनी नारा लगाउँदा प्रदीप पौडेलजस्तै कांग्रेसका केही नेताहरुले हाम्रो मुख थुन्न आएको । तीनै मित्रहरुको यस्तो कुतर्क सुन्दा लाग्छ, ब्यंग आफैलाई गरिरहेका छन् कि अरुलाई ?
केबल चुनाव जित्न यसपटक विचित्रको तालमेल भयो । आफूलाई पहिलो ठान्ने काँग्रेसले दोस्रो स्थानको एमालेलाई एक्ल्याउन वा हराउन तेस्रो नम्बरको एमाओवादीसंग स्थानीय तहदेखि सरकारसम्मै तालमेल गरेको छ । उक्त तालमेलको परिणाम पोखरा र भरतपुरसहित देशैभरको नतिजाले बताएको छ । स्थानिय तहमा जनताले तालमेलको नीति र नेताको फर्मान भन्दापनि आफ्नै मनको आदेशलाई रोजेका छन् । विजातीयहरुबीचको तालमेललाई पूर्णतः अस्विकार गरेका छन् । बरु नयाँ तरिका र पात्रलाई रुचाएका छन् । विबेकशिल र साझा पार्टीप्रति उपत्यकामा देखिएको आकर्षण सबैका लागि चुनौती हो । अरु दल चुनाव लडे त्यसकारण हारियो भन्नु र अरु नलडेको भए एक्लै जितिने थियो भन्नुमा कुनै भिन्नता छैन । परिणमलाई यसरी पो हेर्ने कि प्रदीपजी ?
प्रदीपजी, तपाईँले ओली र एमालेको भन्दा आफ्नै पार्टीको गम्भीर समिक्षा गर्नुभएको छ ? हो, हिजो कांग्रेससँग वीपी र गणेशमान जस्ता जनताले पत्याएका नेता थिए, आज छैनन् । के आजको काँग्रेस वीपी, गणेशमानको समयको जस्तै छ ? प्रधानन्यायाधिशविरुद्धको प्रतिशोधमुखी महाअभियोग, आइजिपी र राजदुत नियुक्ति प्रकरण र भरतपुरमा लोकतन्त्र अपहरणमा काँग्रेस मतियार बन्न के विपी र गणेशमानको विचारधाराले छुट दिन्छ ? लोकतान्त्रिक मूल्य, कानुनी र विधिको शासन तथा राजनीतिक चरित्रलाई धुन्नकारी शेरबहादुरपथले सयौं कोष पर धकेलिसकेको छ । परिणामतः कांग्रेस कहिले अरुको गोटी, कहिले लम्पसारवादको भरिया, कहिले भ्रष्टाचारीलाई १०० किलोको मालाले स्वागत गर्ने उनीहरुको संरक्षक त कहिले अराजकताको पक्षपोषक बनेर प्रस्तुत भएको छ । प्रदीपजी, सक्नुहुन्छ भने यस्तो चौबाटोमा रुमलिएको अस्तव्यस्त काँग्रेसलाई सहि बाटोमा हिडाउनुहोस् । त्यसैमा कांग्रेसीजनको भलाइ छ ।
हो, प्रदिपजीको एउटा कुरामा म सहमत छु, २०५१ को निर्वाचनबाहेक अरु निर्वाचनमा एमालेले नेपाली कांग्रेसलाई जित्न सकेको छैन । अबश्य नै, नेपाली जनताले काँग्रेसलाई पटक पटक बहुमत दिएका छन्, ठुलो पार्टी बनाएका छन् । त्यसको परिणाम उसले जनतालाई के दियो ? महंगी, असुरक्षा, गरिबी, विपन्नता, द्धन्द्ध, युद्ध, बेरोजगार, अस्थिर सरकार यही होइन । जनताले कांगे्रसलाई दिएको बहुमत जहिले सुकै बाँदरको हातमा नरिवल भयो । उसले कहिल्यै थेग्न सकेन । पाँच बर्षका लागि सरकार चलाउन २०४८ मा जनताले दिएको म्यान्डेटलाई लत्याउदै तीन बर्षमै मध्यावधि निर्वाचन गराउने नेपाली कांग्रेस नै होइन रु बहुदलीय ब्यवस्था प्राप्तीपछि आफूसँग स्पष्ट बहुमत भएर पनि सरकार अस्थिर बनाउने मूल सूत्रधार स्वयम् काँग्रेस नै होइन ? यसर्थ, छ र नौ महिनामा सरकार बनाउने र गिराउने कुर्चिदौडको जननी कांग्रेस नै हो । जसको शिकार देश आजसम्म भइरहेको छ । यस्तो कांग्रेसलाई अब जनताले किन मत, बहुमत दिने ? भनेर के ओलीले प्रश्न गर्नु गलत हो ? यसको समिक्षा गर्नुभएको छ, प्रदिपजी ?
दुनियाँलाई थाहा छ, उखान टुक्काले देश चल्दैन । एमालेले जिम्मा पाएको समयमा देश उत्कृष्ट तरिकाले चलाएको छ । मनमोहन अधिकारी नेतृत्वको सरकारदेखि केपी ओलि नेतृत्वको सरकारसम्म आइपुग्दा एमालेको नेतृत्वमा बनेका चारबटा सरकारले अरु सरकारलाई विर्साउने गरी जनपक्षिय काम गरेका छन् । ती सरकारले गरेका काम जनतालाई फेहरिस्त थाहा छ । पछिल्लो समय देशमा निराशाको बादल मडारिएको समयमा ओली सरकारले नयाँ पुस्तमामा अनौठो आशा जगाएको छ । बर्षौँदेखिका जनताका मूर्छित सपनाहरुलाई सतहमा ल्याएको छ । हामीले गर्न सक्छौं, सम्भावनाका क्षेत्रहरु धेरै छन् भन्ने थुप्रै तथ्यहरु उजागर गरेको छ । ती योजना सुनाउँदा हावादारी गफ भन्दै कागजको रेल बनाएर ओली एक्सप्रेस कुदाउनेहरु घोषणापत्रको पहिलो पानामा रेल र सुरुङ्ग मार्गको चित्र छाप्दैछन्, बजेट छुट्याउँदै छन् । यस्तो युग सापेक्ष दृष्टिकोण र समृद्धिको कार्यक्रम के एमाले बाहेक अरुसँग छ ? यसमा आरिसले जली आलोचना गर्नुको केही तुक रहन्छ र, मान्यवर ?
प्रदीपजी, तपाईलाई यो तथ्य स्वकार्न गाह्रो पर्न सक्छ, केपी ओलीले भाषण मात्र दिएका छैनन् अवको पुस्तालाई नयाँ दृष्टि दिएका छन् । देशलाई समृद्ध बनाउने रोडम्याप हस्तान्तरण गरेका छन् । बोलेका मात्र छैनन् दुरगामी प्रभाव पर्ने र जनताको मनमा कहिल्यै नमेटिने काम गरेका छन् । चुँडिनै लागेका देशका धेरै नशाहरु जोडेका छन् । त्यसैले केपी ओलीको चिन्ता गर्ने प्रदीपजीलाई बहसका लागि मेरो खुल्ला चुनौती छ ।
सोचौँ त, मनमोहन अधिकारीले शुरु गरेको बृद्ध भत्ता र नौ‘स’ को कार्यक्रम गिरिजाप्रसाद कोइरालाले किन देखेनन् ? एमालेले गाउँ गाउँमा बजेट पठाउँदा काँग्रसले किन कनिका छरेको आरोप लगायो ? माओवादी समस्याको समाधान बार्ताबाटै खोजौ भनेर माधव नेपालले बारम्बार आग्रह गर्दा शेरबहादुर देउवा किन पहिल्यै मानेनन् ? शान्ति सम्झौतामा हस्ताक्षर गरेर जस लिने गिरिजाप्रसादले कम्युनिस्टलाई सिध्याउन २०५२ पहिले नै किन ‘किलो शेरा टू अप्रेशन’ शुरु गरे ? देशले १० बर्षे युद्धको बोझ बोकेपछि आज आएर एमाओवादी संग तालमेल गरी चुनाव लड्ने शेरबहादुरले २०५२ सालमै किन उनीहरुलाई युद्ध शुरु गर्नबाट रोक्न सकेनन् ? एक मधेश एक प्रदेश स्वयं मधेशको हित विपरित छ भनी झलनाथ खनालले जस्तै स्पष्टसँग कांग्रेसका नेताहरुले किन भन्न सकेनन् ? संविधान घोषणको समयमा ओलीले लिएकै जस्तो अडान भारतिय दुतको सामु सुशील कोइरालाले किन लिन सकेनन् ? किन लर्बराए र उनै ओलीलाई देखाए ? चीनसँग पारवहन सन्धि गर्ने ओलीको जस्तो साहस सुशीलले किन देखाउन सकेनन् ? नाकाबन्दीले देश छटपटाइरहँदा कांग्रेसका नेताहरुले किन नाकाबन्दी भयो भनि किटेर भन्न सकेनन् ? धेरै पटक सरकार चलाएका गिरिजाप्रसाद र शेरबहादुरले ओलीले देखेको समृद्धिको सपना किन देख्न सकेनन् ? प्रदिपजी, तपाईँका नेताहरुलाई यी प्रश्न सोध्नुभएको छ ?
प्रदीपजी, तपाईलाई यो तथ्य स्वकार्न गाह्रो पर्न सक्छ, केपी ओलीले भाषण मात्र दिएका छैनन् अवको पुस्तालाई नयाँ दृष्टि दिएका छन् । देशलाई समृद्ध बनाउने रोडम्याप हस्तान्तरण गरेका छन् । बोलेका मात्र छैनन् दुरगामी प्रभाव पर्ने र जनताको मनमा कहिल्यै नमेटिने काम गरेका छन् । चुँडिनै लागेका देशका धेरै नशाहरु जोडेका छन् । विपी र गणेशमान आज जिवित हुन्थे भने उनीहरु पनि खुसी हुने काम गरेका छन् । हो अवश्य नै, एमाले र केपी ओलीका केही कमजोरी छन् तर ती कमजोरी देश डुवाउने र लोकतन्त्र धरापमा पार्ने खालका छैनन । किनकी, एमालेसँग मदन भण्डारीको जबज छ, सिङ्गो देशलाई नेतृत्व गरिरहेको मौलिक सिद्धान्त छ, जनताको अपार शक्ति छ । त्यसैले केपी ओलीको चिन्ता गर्ने प्रदीपजीलाई बहसका लागि मेरो खुल्ला चुनौती छ ।
लेखक अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष हुन् ।(दैनिक नेपालवाट साभार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed