Breaking News.... EverestOnlineKhabar
April 20, 2026

नेपाली कांग्रेस बिराटनगरको मेयरमा अमृत अर्याल र वीरगञ्जमा अजय द्विवेदी…..

Loading

विराटनगर,२७ जेठ ।
नेपाली कांग्रेसले बिराटनगर महानगरपालिकाको मेयर पदमा सांसद अमृत अर्याललाई उम्मदेवार बनाउने चर्चा पार्टीभित्र सुरु भएको छ । त्यसैगरी वीरगगञ्ज महानगरपालिकाको मेयरमा कांग्रेसले पूर्वसांसद अजय द्विवेदीलाई उठाउनेबारे कांग्रेस मुख्यालयमा छलफल सुरु भएको छ । बिराटनगर र वीरगञ्ज दोस्रो चरणमा निर्वाचन हुने लागेका दुईवटा महानगरपालिका हुन् । यी दुई महानगरमा कसले विजय हात पार्ने भन्नेमा प्रमुख दलवीच प्रतिस्पर्धा छ । दुबै महानगरपालिकामा कांग्रेस, एमाले र माओवादीमात्रै होइन, मधेसवादी दलहरु पनि मेयरका दाबेदारका रुपमा रहेका छन् । यसैवीच नेपाली कांग्रेसले बिराटनगरको मेयरमा ठूला र चर्चित नेतालाई टिकट दिएर जित सुनिश्चित गर्ने रणनीति बनाएको कांग्रेस स्रोतले जनाएको छ ।
यसअघि बिराटनगर महानगरपालिकाको मेयरमा कांग्रेसले केन्द्रीय सदस्य डिला संग्रौला, जिल्ला सचिव नागेश कोइराला र नगर सभापति भीम पराजुलीमध्ये एकलाई उठाउने चर्चा गरेको थियो । त्यसैगरी फूलकुमार लालवानी र विश्वनाथ रिजालको पनि मेयरका रुपमा चर्चा हुँदै आएको थियो । तर, अब यो चर्चामा सांसद अमृत अर्यालको पनि नाम थपिएको छ । बहालवाला सांसद अर्याललाई बिराटनगरको मेयरमा उठाउने प्रस्तावबारे पार्टीमा छलफल सुरु भएको नेपाली कांग्रेसका मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बुले स्वीकार गरे । बिराटनगर महानगरपालिका बनेकाले प्रभावशाली नेतालाई उठाउनुपर्ने कांग्रेसभित्र छलफल सुरु भएको स्रोतले बतायो । मोरङको क्षेत्र नं ५ प्रत्यक्ष निर्वाचित सांसद रहेका अर्याल महानगरको मेयरमा उम्मेद्वार बन्ने टुंगो लागेमा उनले सांसद पदबाट राजीनामा दिनेछन् ।
त्यसो त बिराटनगर महानगरपालिका बनिसकेको अवस्थामा एमालेले पनि हेबी वेट उम्मेदवार खोज्न थालेको स्रोत बताउँछ । एमालेबाट पूर्वमन्त्री लालबाबु पण्डितको नाम बिराटनगर महानगरपालिकाको मेयरमा चर्चा आउने गरेको छ । बिराटनगर महानगरपालिकामा बहालवाला सांसदलाई टिकट दिन लागेको कांग्रेसले वीरगञ्ज महानगरपालिकामा भने पूर्वसांसद अजय द्विवेदीलाई मेयरको टिकट दिने लगभग पक्का जस्तै भएको कांग्रेस स्रोतले दावी गरेको छ । कांग्रेस नेता द्विवेदी पार्टीका पर्सा जिल्ला सभापति समेत हुन् ।
यसैवीच इटहरी उपमहानगरपालिका र धरान उपमहानगरपालिकामा मेयरको टिकटलाई लिएर कांग्रेसभित्र विवाद चर्किएको छ । इटहरीमा रोहित प्रसाईलाई मेयरको टिकट दिने सुनेपछि अर्का प्रत्यासी हेमकर्ण पौडेलले पार्टीको नगर कार्यालयमा तालाबन्दी गर्नका साथै हजारौं कार्यकर्तालाई लिएर सडक प्रदर्शन गरेका छन् ।
त्यस्तै धरान उपमहानगरपालिकामा तिलक राईलाई टिकट दिने निर्णय भएपछि किशोर राई समूहले असन्तुष्टि जनाएको छ । यी दुबै उपमहानगरको विवाद शनिबारसम्म टुंगो लाग्ने र सबै प्रदेशको उम्मेवारी टुंग्याइने कांग्रेसका एक केन्द्रीय सदस्यले बताए । प्रदेश नम्बर १ को इलाममा देखिएको विवाद समाधान भएको र ७ नम्बर प्रदेशमा कांग्रेस सभापतिले नै उम्मेद्वारी टुंगो लगाउने कांग्रेस स्रोतको भनाइ छ ।
त्यस्तै पाँच नम्बर प्रदेशको अधिकांश नाम टुंगो लागिसकेको भए पनि दुई नम्बर प्रदेशमा भने वीरगञ्ज बाहेक अन्य स्थानको नाम केन्द्रमा आइनसकेको स्रोतले बताएको छ । झापा जिल्लामा पनि कांग्रेसले अधिकांश स्थानीय तहमा उम्मेदवारहरुको टुंगो लगाइसकेको छ । कांग्रेसले विहीबारदेखि देशैभरिका उम्मेदवारहरुको टुंगो लगाउनका लागि गृहकार्य गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed