![]()
काठमाडौं, १७ असार ।
काठमाडौं उपत्यकाको लाइफलाइन मानिएको नागढुंगा–सिसतर्फ सुरुङमार्ग सञ्चालनको अन्तिम तयारीमा पुगेको छ । हाल सुरुङभित्र नियमित निरीक्षण, मर्मतसम्भार, सरसफाइ, आपत्कालीन उद्धार तथा दुर्घटना व्यवस्थापनका लागि प्रयोग हुने सवारीसाधन र उपकरणहरूको कार्यसम्पादन परीक्षण सफलतापूर्वक सम्पन्न गरिएको छ ।
सुरुङमार्गलाई पूर्ण रूपमा सुरक्षित र प्रविधिमैत्री बनाउनका लागि आवश्यक सुरक्षा प्रणाली, भेन्टिलेसन (हावा आवतजावत गर्ने प्रणाली), निरन्तर विद्युत् आपूर्ति, अग्नि नियन्त्रण प्रणाली, सञ्चार, सीसीटीभी निगरानी तथा ट्राफिक व्यवस्थापन प्रणालीको अन्तिम प्राविधिक परीक्षण (Final Testing) भइरहेको छ ।
जापानको सहयोग र २२ अर्बको लगानी
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ गते शिलान्यास गर्नुभएको यो परियोजना जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण गरिएको हो । परियोजनाको कुल लागत करिब २२ अर्ब रुपैयाँ रहेको छ, जसको अधिकांश हिस्सा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियतपूर्ण ऋणबाट व्यवस्थापन गरिएको हो ।
यो गौरवको आयोजना निर्माणको मुख्य जिम्मेवारी जापानी निर्माण कम्पनी हाज्मा–आन्दो कर्पोरेशनले सम्हालेको हो भने परामर्श सेवा (Consultancy) मा पनि जापानी कम्पनीहरूको संयुक्त संलग्नता रहेको छ ।
मुख्य सुरुङ २.६८ किमी र अत्याधुनिक संरचना
परियोजना अन्तर्गत मुख्य सुरुङको लम्बाइ करिब २.६८ किलोमिटर रहेको छ । यात्राका क्रममा हुनसक्ने सम्भावित जोखिम वा भवितव्यलाई मध्यनजर गर्दै मुख्य सुरुङको समान्तर हुने गरी उद्धारका लागि छुट्टै आपत्कालीन सुरुङ (Escape Tunnel) समेत निर्माण गरिएको छ । सुरुङमार्गसँगै पहुँच सडक (Approach Road), फ्लाईओभर, पुल तथा अन्य सहायक संरचनाहरू निर्माण भई यस क्षेत्रको स्वरूप नै बदलिएको छ ।
चुनौतीका बीच निर्माण सम्पन्न
२०७६ सालमा निर्माण कार्य सुरु भए पनि विश्वव्यापी कोभिड–१९ महामारी, जग्गा अधिग्रहणमा देखिएका विवाद, जटिल भूगर्भीय र प्राविधिक चुनौती तथा अन्य व्यवस्थापकीय कारणले परियोजना सम्पन्न हुन केही ढिलाइ भएको थियो । तर, तमाम अवरोधहरूलाई चिर्दै हाल निर्माण कार्य लगभग शतप्रतिशत सम्पन्न भइसकेको छ र आयोजना सञ्चालनको पर्खाइमा छ ।
सुरुङभित्र कस्तो हुनेछ नियम ?
सुरुङमार्ग सञ्चालनमा आएपछि सुरुवाती चरणमा निश्चित मापदण्ड पूरा गरेका सवारीसाधनलाई मात्र प्रवेश दिइनेछ । सुरुङभित्र:
-
सवारी साधनको गति सीमा (Speed Limit) तोकिनेछ ।
-
दुई सवारी साधनबीच कायम गर्नुपर्ने सुरक्षित दूरीको अनिवार्य पालना गर्नुपर्नेछ ।
-
लेन अनुशासन र सुरक्षा मापदण्डलाई कडाइका साथ लागू गरिनेछ ।
सुरुङको २४सै घण्टा सञ्चालन, निगरानी र आपत्कालीन व्यवस्थापनका लागि एक अत्याधुनिक नियन्त्रण केन्द्र (Control Centre) स्थापना गरिएको छ, जहाँबाट डिजिटल प्रविधिमार्फत सुरुङभित्रको हरेक गतिविधिको निगरानी हुनेछ ।
जामको अन्त्य र आर्थिक बचतको विश्वास
नागढुंगा सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा आएपछि काठमाडौं उपत्यका प्रवेश गर्ने र बाहिरिने यात्रु तथा मालवाहक सवारीको आवागमन थप सहज, सुरक्षित र छिटो हुने अपेक्षा गरिएको छ ।
वर्षौंदेखि नागढुंगा-नौबिसे सडकखण्डमा यात्रुले भोग्दै आएको सास्तीपूर्ण र लामो ट्राफिक जामको अन्त्य हुनेछ । यसबाट यात्राको समय बचत हुनुका साथै इन्धन खपत र सवारी सञ्चालन लागत घट्न गई देशको अर्थतन्त्रमा समेत सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ ।


