Breaking News.... EverestOnlineKhabar
March 12, 2026

Loading

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र चुलिँदै गएको आन्तरिक विवाद र महाधिवेशनको कार्यतालिकालाई लिएर देखिएको मतभेद सुल्झाउन आफ्ना निकटका शीर्ष नेताहरूको विशेष बैठक बोलाएका छन्।

सभापति देउवाको निजी निवास महाराजगञ्जमा आज दिउँसो २ बजे बस्ने गरी तय भएको यो बैठकमा वर्तमान र पूर्व पदाधिकारीहरूको सहभागिता रहने बुझिएको छ। विशेषगरी पार्टीभित्र ‘विशेष महाधिवेशन’ कि ‘नियमित महाधिवेशन’ भन्ने विषयमा दुई धार स्पष्ट देखिएपछि देउवाले रणनीति तय गर्न यो बैठक डाकेका हुन्।

विवादको मुख्य जड, विशेष भर्सेस नियमित महाधिवेशन
नेपाली कांग्रेसभित्र अहिले महाधिवेशनको समय र प्रकृतिलाई लिएर नेतृत्व तह विभाजित देखिएको छ,

संस्थापन पक्षको अडान, कार्यसम्पादन समितिले यसअघि नै आगामी वैशाख २८ देखि ३१ गतेसम्म १५औँ महाधिवेशन गर्ने तालिका पारित गरिसकेको छ। देउवा पक्ष यही वैधानिक प्रक्रिया अनुसार अघि बढ्ने पक्षमा छ।

इतर पक्षको माग, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका नेताहरूले भने विधानको व्यवस्था अनुसार तत्कालै ‘विशेष महाधिवेशन’ गर्नुपर्ने अडान राख्दै आएका छन्। उनीहरूले यसै महिनाको अन्तिम साता विशेष महाधिवेशन आयोजना गर्ने गरी आन्तरिक तयारी समेत तीव्र पारेका छन्।

“पार्टीको कार्यसम्पादन समितिले निर्णय गरिसकेको अवस्थामा फेरि विशेष महाधिवेशनको चर्चाले अन्योल बढाएको छ। आजको बैठकमा यिनै असमझदारीहरू कसरी हटाउने भन्नेबारे छलफल हुनेछ,” देउवा निकट एक पूर्व पदाधिकारीले बताए।

बैठकको एजेन्डा,आजको बैठकमा मुख्य गरी तीनवटा विषयमा छलफल हुने स्रोतले जनाएको छ,महामन्त्रीद्वयले अघि सारेको विशेष महाधिवेशनको प्रस्तावलाई कसरी सम्बोधन गर्ने? पार्टीको आन्तरिक विवादलाई व्यवस्थापन गरी १५औँ महाधिवेशन सुनिश्चित गर्ने।

इतर समूहको गतिविधिलाई रोक्न संस्थापन पक्षले लिने आगामी रणनीति।

पार्टीभित्रको यो शक्ति सङ्घर्षले नेपाली कांग्रेसको आगामी राजनीतिक दिशा र नेतृत्व चयनमा ठुलो अर्थ राख्ने देखिन्छ। महामन्त्री थापा र शर्माले विशेष महाधिवेशनमार्फत पार्टीमा वैचारिक र संरचनात्मक परिवर्तनको मुद्दा उठाइरहँदा सभापति देउवा भने आफ्नै पकड कायम राख्दै नियमित प्रक्रियाबाटै अघि बढ्ने दाउमा छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.