Breaking News.... EverestOnlineKhabar
July 28, 2026

Loading

२०७६ फागुन २७, प्युठान । प्यूठान नगरपालिका– ९ पाखाचितिमा रहेको ऐतिहासिक तथा प्राकृतिक सम्पदा ‘बुलबुले मूल’ पर्यटकीय गन्तव्य बन्दै गएको छ । स्थानीयवासीले बाह्रैमहिना पानी हुने यस स्थानको प्रचारप्रसार गर्न थालेसँगै आन्तरिक पर्यटन स्थलको रुपमा विकास हुँदै गएको हो । झण्डै दुई सय वर्ष पहिले दूधकोशीबाट प्यूठान आएका कविराज भण्डारीले पानीको मूलको महिमा भएकै कारणले कोटहरूमा नवसी पाखाचिति मूलनजिकै बस्ती बसाली आफ्ना सन्तानलाई त्यहाँ बस्ने वातावरण मिलाएको भण्डारी वंशावलीबाट बुझ्न सकिन्छ ।

वर्षौँ पुरानो लिसोको विशाल रूखमुनी समथर भूभागबाट एकै स्थानबाट पानी निस्कनु यहाँको प्रमुख विशेषता थियो । तर, अहिले लिसोको रूख नभइ तेजुका साथै अन्य जातिका नयाँ पुराना धेरै रूखले भरिपूर्ण ठाउँ प्राकृतिक रूपमा सफा र सुन्दर रमणीय छ । उक्त मूलमा २२ वटा धारा छन् । त्यस मूलमा हिउँदमा होस् वा वर्षात्मा सधैँभरि एकनास पानी हुने यहाँको अर्को विशेषता हो ।

बस्तीका बीचमा रहेको सुन्दर प्राकृतिक सम्पदाको संरक्षणको लागि प्यूठान नगरपालिका, संसद् विकासकोष, वडा कार्यालयका साथै स्थानीय भण्डारी तथा जिसी परिवारको आर्थिक सहयोगमा परम्परागत २२ वटा ढुङ्गेधारा जडान गरिएको छ । प्रति धारा रु नौ हजारदेखि १८ हजार बराबरको लागतमा धारा निर्माण गरिएको छ । पाटनबाट खरिद गरी व्यवस्थित जडान गरिएका ढुङ्गेधाराबाट नियमित रूपमा सबै धारबाट समान रूपमा पानी झर्ने गरी धारा निर्माण गरिएको स्थानीयवासी हिमा जिसीले जानकारी दिए ।

जति–जति मौसम चिसिँदै जान्, त्यतिकै मात्रमा त्यस मूलको पानी तातो हुने र जाडो समयमा नुहाउन सहज हुन्छ । माघे सङ्क्रान्ती पर्वमा यहाँ स्नान गर्दा छाला रोग तथा अन्य रोग निको हुने धार्मिक विश्वास छ । माघे सङ्क्रान्ती पर्वको अवसरमा बुलबुले मूलमा विशेष कार्यक्रमको आयोजना गरी विभिन्न साँस्कृतिक कार्यक्रम हुने गरेको बुलबुले मूल व्यवस्थापनका अध्यक्ष दिनबहादुर भण्डारीले बताए । जेष्ठपूर्णिमाको अवसरमा यस मूलमा दूधको धार, नयाँ अन्नबाली चढाउनुका साथै विभिन्न भेँडाहरूको बलि चढाउने प्रचलन रहेको उहाँले जानकारी दिए । उनका अनुसार वर्षौँ पुरानो यो संस्कार निरन्तर चलिरहेको छ ।

विसं २०५२ मा उक्त मूलको पानीबाट नौ किलोवाट विद्युत् उत्पादन गर्न सकिने भएपनि साँढे ५ किलोवाट विद्युत् उत्पादन गरी २५ र ३० घरमा विद्युत्सेवा उपलब्ध गराएको छ । ६० र ७० घरमा सेवा पु¥याउने गरी विद्युत् उत्पादन क्षमता विस्तारका लागि प्राविधिक भएको दिनबहादुर जिसीले जानकारी गराए । उक्त मूलको पानीले एउटा कुटानीपिसानी मिल सञ्चालन गर्नुका साथै थुप्रै जग्गा जमिन सिञ्चित गरेको छ ।

प्यूठान नगरपालिका– ९ को मध्ये भागमा अवस्थित बुलबुलेको संरक्षण र सम्वद्र्धन गर्ने हो भने सुन्दर पर्यटकीयस्थल बन्ने र आर्थिक आयआर्जनमा टेवा पुग्ने विश्वास लिइएको छ । उक्त बुलबुले मूललाई प्यूठान नगरपालिकाले संरक्षणको लागि रु एक लाख आर्थिक सहयोग गरेको थियो । नियमित रूपमा प्यूठान नगरपालिकाले नगरपालिका क्षेत्रभित्रका सम्पूर्ण ऐतिहासिक, पुरातात्विक तथा प्राकृतिक सम्पदाको संरक्षण तथा विकासको लागि गुरूयोजना बनाइ अगाडि बढाएको छ । यस पर्यकीय स्थलमा मासिक ५०० बढी अवलोकनका आउने गरेका छन् ।

सञ्चारको पहुँचदेखि ओझेलमा परेका कारण यसको प्रचारप्रसारमा पत्रकारको महत्वपूर्ण भूमिका रहने बागेश्वरी महिला बहुउद्देश्य सहकारीद्वारा सञ्चालित होमस्टेका सञ्चालक हिमा जिसीले बताए । पर्यटन प्रवद्र्धनका लागि सामुदायिक होमस्टेका रुपमा विकास गर्न आवश्यक रहेको भन्दै यसको उथानको लागि उनले पत्रकारलाई आग्रह गरे । आगामी दिनमा वन तथा पर्यटन मन्त्रालयमार्फत व्यवस्थित गर्ने उनको भनाइ छ । नेपाल पत्रकार महासङ्घ, प्यूठानका एलवी थापाले टोलीले उक्त बुलबुले मूलको अवलोकन गरेको छ । त्यस अवसरमा उपाध्यक्ष थापाले पर्यटन प्रवद्र्धन र विकासमा पत्रकारिताको महत्वपूर्ण सहयोग हुने त्यसका लागि आफूहरुले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed