Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

२०७६ फागुन ०२, सोलुखुम्बु । सगरमाथा राष्ट्रिय निकुञ्जले बिना अनुमति निकुञ्जमा प्रयोग गरिएका दुई ‘ड्रोन क्यामेरा’ जफत गरेको जनाएको छ । निकुञ्जका प्रमुख भूमिराज उपाध्यायका अनुसार उक्त क्यामेरा जोरसल्ले र डोले क्षेत्रबाट बरामद गरिएको हो । अहिले ती क्यामेरा विभागमा पठाउने तयारी भइरहेको निकुञ्जले जनाएको छ । निकुञ्ज क्षेत्रमा बिना अनुमति क्यामेरा तथा ड्रोन क्यामेरा प्रयोग गर्न पाइँदैन तर कतिपयले प्रयोग गर्ने गरेको उनले बताए । विगतमा निकुञ्ज क्षेत्रमा चोरी शिकारीका लागि थापिएका विभिन्न प्रकारका धराप, पासोलगायतका सामग्री बरामद हुने गरिेको भए पनि चालु आर्थिक वर्षको हालसम्म त्यस्ता सामग्री नभेटिएको निकुञ्जले जनाएको छ ।

विसं २०३२ मा स्थापना भएको निकुञ्जको कुल क्षेत्रफल १,१४८ वर्ग किमि रहेको छ । सर्वोच्च शिखर सगरमाथा (८८४८ मि), ६,००० मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कुजस्ता हिमचुचुरासमेत यसै निकुञ्ज क्षेत्रभित्र पर्छ । यहाँ स्थानीय बासिन्दा र पर्वतारोहीले प्रयोग गर्दै आएका गोक्यो, खुम्बु, छुकुम र नाङ्गपा मुख्य चारवटा उपत्यका रहेका छन् । यस निकुञ्जभित्रको गोक्यो र सम्वद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको थियो । यहाँ कस्तुरी मृग, हिमाली भालु, हिउँ चितुवा, थार, घोरल, झारलजस्ता वन्यजन्तुका साथै डाँफे, चिलिमे, कालिज, हिम कुखुरा, लालचुच्चे काग (टुंगा) र पहेँलो चुच्चे काग (टेमु ) लगायत १९३ प्रजातिका चरा पाइन्छन् ।

सगरमाथा हिमाल र यस क्षेत्रको मनोरम दृश्य हेर्न, पर्वतारोहण गर्न, शेर्पा संस्कृति तथा वन्यजन्तु अवलोकन गर्न वर्षेनी हजारौँ पयर्टक यहाँ आउने गर्दछन् । सन् १९७९ देखि यस राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको छ । त्यसैले यस निकुञ्जभित्र विभिन्न मानवीय क्रियाकलाप गर्न प्रतिबन्द गरिएको निकुञ्जले जनाएको छ ।

नियम विपरीत हेलिकप्टरको उडान

सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा नियम विपरीत हेलिकप्टर उडान तथा अवरतण हुने गरेको छ । निश्चित स्थान तथा क्षेत्रमा उडान तथा अवतरण हुनुपर्ने भए पनि पर्यटक उद्धारको नाममा मनोमानी हेलिकप्टरले उडान भर्ने गरेको खुम्बुवासीले गुनासो गरेका छन् । यसले गर्दा यस क्षेत्रका पशुपक्षीलगायत होटल व्यवसायमा समेत प्रत्यक्ष असर परिरहेको नाम्चेका लामाकाजी शेर्पाले बताए । पछिल्लो समयमा निकुञ्ज क्षेत्रमा हुने गरेको अवैधानिक हेलिकप्टर उडानले संरक्षित जन्तुको जीवन चक्रमा गम्भीर असर पर्ने भन्दै विज्ञले समेत चिन्ता व्यक्त गरेका छन् तर हेलिकप्टर कम्पनी नियमको धज्जी उडाउँदै आफूखुशी उडान भर्दै आएको निकुञ्जका प्रमुख बताए । सिजनको समयमा दैनिक १९० भन्दा बढी पटक हेलिकप्टर उडान तथा अवतरण हुने गरेको लुक्ला विमानस्थलको तथ्याङ्क छ तर लुक्लाभन्दा माथिको फाक्दिङ, नाम्चे, होटल एभरेस्ट, दिंबुचे, फेरिचे, गोरक्सेप, आधार शिविरलगायत क्षेत्रमा अवतरण भएको कुनै पनि तथ्याङ्क छैन । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed