Breaking News.... EverestOnlineKhabar
August 1, 2026

Loading

२०७६ माघ ०२, सुर्खेत । कर्णाली प्रदेशको विकास र समृद्धिका लागि राजधानी सुर्खेतमा पहिलो पटक ‘कर्णाली प्रदेश विकास परिषद्’को बैठक हुने भएको छ । कर्णाली प्रदेश सरकारले यही माघ १० गते सुर्खेतको शुभ होटेलमा विकास परिषद्को बैठक आयोजना गर्ने भएको हो । बैठकको अध्यक्षता कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गर्नेछन् । कर्णाली प्रदेश योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश, २०७५ को दफा ७ को प्रावधानबमोजिम पहिलो पटक बैठक गर्न थालिएको प्रदेश योजना आयोगका प्रवक्ता सुदिशकुमार अर्यालले जानकारी दिए ।

‘पहिलो बैठकमा प्रदेशको प्रथम आवधिक योजनासमेतमा छलफल गरी परिषद्का सदस्यबाट मार्गदर्शन प्राप्त गर्ने बैठकको मुख्य उद्देश्य रहेको छ,’ प्रवक्ता अर्यालले भने, ‘यसले प्रदेशले लिएको नीति तथा लक्ष्य प्राप्ति एवं योजना कार्यान्वयनमा सहयोग पुग्नुका साथै स्थानीय तह र प्रदेश सरकारको समन्वयमा प्रभावकारिता ल्याउने छ ।’ प्रदेश योजना आयोगका सदस्य डा.दीपेन्द्र रोकायले बैठकमा पञ्चवर्षीय योजनाको आधारपत्रको मस्यौदामाथि छलफल हुने बताए । सदस्य डा. रोकायले भने, ‘मस्यौदामाथिको छलफलबाट हामी सुझाव र मार्गदर्शन प्राप्त गर्नेछौँ । जसबाट प्रदेश सरकारले लिएको ‘सुखी कर्णाली र सुखारी कर्णालीवासी’ नारालाई सार्थक तुल्याउने छ ।’

उक्त बैठकमा परिषद्का सहअध्यक्ष एवं आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, विभागीय मन्त्री, प्रदेश योजना आयोगका उपाध्यक्ष, प्रदेशसभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेता, प्रदेशसभा समितिका अध्यक्ष, प्रदेश योजना आयोगका सदस्य, जिल्ला समन्वयसमिति तथा नगरपालिकाका प्रमुख र गाउँपालिकाका अध्यक्ष प्रदेश सरकारबाट मनोनित ५ सदस्य, प्रदेश सरकारका सचिव गरी करिब १२० जनाको सहभागिता रहने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed