![]()
काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले कार्यालय समयमा हुने बैठक भत्ता नलिन कर्मचारीलाई निर्देशन दिएका छन् । आर्थिक वर्ष २०७५/०७६ को स्वीकृत कार्यक्रम एवं बजेट कार्यान्वयनसम्बन्धी प्रथम चौमासिक समीक्षा बैठकको दोस्रो दिन बिहीबार सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त निर्देशन दिएका हुन् ।
उनले नीति, बैठक, छलफल, सुझावमा धेरै समय नबिताइ कामलाई प्राथमिकता दिन पनि निर्देशन दिए। मन्त्री र कर्मचारीहरुले काम गर्ने ढाँचामा पनि परिवर्तन ल्याउनुपर्ने भन्दै प्रधानमन्त्री ओलीले सबै क्षेत्र हरेक दिन रचनात्मक कामसहित अघि बढे देश पनि एक कदम अघि बढ्नु विश्वास व्यक्त गरे।
मन्त्रालयगत रुपमा टीप्पणी गर्दै निर्देशन गरेका प्रधानमन्त्रीले वन मन्त्रालयलाई वृक्षरोपणमा मात्र होइन, कृषि वन बढाउन आग्रह गरे। उनले नेपाल वायु सेवा निगम घाटामा जानुको कारणबारे समेत प्रश्न उठाए ।
त्यस्तै, उनले कृषि, उद्योग, पर्यटन, सेवाका क्षेत्रलाई आधुनिकीकरण गरेर रोजगारी सिर्जना गर्नुपर्ने बताएका छन्। प्रधानमन्त्री ओलीले संघ, प्रदेश र स्थानीय तहमा भएको समन्वय अभावलाई घटाउनु पर्नेमा जोड दिए।
समीक्षा बैठकमा खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव गजेन्द्र ठाकुर, युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवहरु खगराज बराल र कृष्ण विसीले आफ्नो आफ्नो मन्त्रालयको प्रगति विवरण पेस गरेका थिए।
यसैगरी भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनाली, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दाहाल, वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओली र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले प्रगति विरण पेस गरेका थिए।


