![]()
काठमाडौं । सरकारले कात्तिक २९ र मङ्सिर ३ गतेको मन्त्रिपरिषद् निर्णय पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै मन्त्री गोकुलप्रसाद बाँस्कोटोले निर्णय सार्वजनिक गरेका हुन् ।
सरकारले सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं. २, ३ र ५ अन्तर्गत रहेको ५.०५ हेक्टर वनक्षेत्र बढीमा ३० वर्षको लागि र त्यहाँ रहेका विभिन्न प्रजातिका १ सय १६ वटा रुखबिरुवा हटाउनका लागि स्वीकृत दिने निर्णय गरेको छ । लक्ष्मी माइनिङ प्रालिलाई चुनढु्ङ्गा उत्खनन गर्न चितवनको कालिका नगरपालिका १ मा रहेको ४ हेक्टर राष्ट्रिय वन क्षेत्रको जग्गा बढीमा १५ वर्षका लागि प्रयोग गर्न दिने र त्यहाँ रहेका २२ वटा रुख हटाउन दिने निर्णय गरेको छ ।
भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सिँचाइसहित जलविद्युत् विकासका संयुक्त पूर्वाधारहरु हेडवक्र्स, टनेल, पहुँचमार्ग आदि निर्माण गर्न सुर्खेतको राष्ट्रिय वन क्षेत्रमा थप ५.४२ हेक्टर जग्गा प्रयोग गर्न दिने र त्यहाँ रहेका १ हजार २३ रुखबिरुवा हटाउन दिने निर्णय गरेको छ ।
यस्तै गमगढी–चखेली–दार्मा सडक (हुम्ला–मुगु लिंकरोड) निर्माणका लागि हुम्लाको चखेली गाउँपालिका वडा नं. १, २ र ३ मा रहेका विभिन्न सामुदायिक वनलगायत राष्ट्रिय वन क्षेत्रको १७.३९५ हेक्टर र मुगुको रारा छायाँनाथ गाउँपालिका वडा नम्बर १, १३ र १४ को ११.६६० हेक्टर गरी कुल २९.०५५ हेक्टर राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न र त्यहाँ रहेका १४ हजार ७ सय ३९ वटा बोटबिरुवा हटाउन स्वीकृति दिएको छ ।
यस्तै नेपालमा विद्युतीय व्यापारको विकास र उपयोगका लागि राष्ट्रिय रणनीति तर्जुमा गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालका सचिवको संयजकत्वमा समिति गठन गर्ने निर्णय गरेको छ ।
सिन्धुपाल्चोकको माङ्खा र राम्चेबीचको जुरेमा २०७१ साउन १७ गते गएको पहिरोमा परेका परिवारका लागि नेपाल बैंक लिमिटेडको चौतारा शाखामा सङ्कलित राहत रकम वितरणका लागि फुकुवा गर्ने निर्णय गरेको छ । पहिरोपीडितले पनि भूकम्पपीडित सरह नै राहत रकम पाउनेछन् ।
यसैगरी सरकारले मङ्सिर ९ गते देशभर लैंगिक हिंसा विरुद्धको अभियान दिवस मनाउने निर्णय गरेको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य फत्तबहादुर गुरुङलाई पदबाट हटाउने निर्णय गरेको छ । नेपाली सेनालाई ‘इन्टरनेशनल मिल्ट्री स्पार्टस् काउन्सिल’ को सदस्यता लिन स्वीकृति प्रदान गरेको छ ।


