![]()
काठमाडौं । नेपाली कांग्रेसले बडादशैं, तिहार, नेपाल संवत् र छठ लगायतका पर्वका अवसरमा कात्तिक १६ गते शुक्रवार गर्ने चियापान कार्यक्रमको संपूर्ण तयारी पूरा भएको जनाएको छ।
अतिथिको स्वागतका लागि पार्टी कार्यालयमा तीनवटा स्वागतद्धार बनाइएको छ। सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्धय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का लगायतका नेताहरुले अतिथिहरुको स्वागत गर्नेछन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेदेखि ५ बजेसम्म चियापान कार्यक्रमलाई व्यबस्थित बनाउनका लागि नेपाल भूतपूर्ब सैनिक संघ, नेवि संघ, तरुण दल र महिला संघका १२० जना स्वयंसेवक परिचालन गरिनेछ।
कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, मन्त्रीहरु, संवैधानिक निकायका पदाधिकारी, कुटनीतिक नियोगका अधिकारीहरु, सांसदहरु, विभिन्न राजनीतिक दलका नेता, नेपाल सरकारका उच्चपदस्थ कर्मचारी, विभिन्न आयोग तथा सुरक्षा निकायका अधिकारीलाई निम्तो दिइएको कांग्रेसले जनाएको छ।
यस्तै, पूर्वप्रशासक, लोकतान्त्रिक आन्दोलनका अगुवा, नागरिक समाजका अगुवा, सहिद परिवार, उद्योगी–व्यवसायी, कलाकार, सञ्चारकर्मी, खेलाडी, विभिन्न पेसागत संघसंस्थाका अगुवा लगायत सर्बसाधारणलाई कांग्रेसले घरघरमा पुगेर चियापानको निम्ता कार्ड दिएको छ।
अघिल्ला वर्षमा कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम आयोजना गर्ने गरेको भए पनि पार्टी नेता चक्रप्रसाद बाँस्तोलाको निधनका कारण पूर्ब निर्धारित कार्यक्रम पर सारिएको हो।


