![]()
काठमाडौँ । काठमाडौँ क्षेत्र नं. १ की उम्मेदवार मेनुका भण्डारी (कृतु) ले निर्वाचनको परिणामलाई सहज रूपमा स्वीकार गर्दै लोकतन्त्र र संविधानको रक्षा नै आफ्नो मुख्य प्राथमिकता रहेको बताउनुभएको छ। निर्वाचनको नतिजा सार्वजनिक भएपछि एक प्रेस वक्तव्य जारी गर्दै उहाँले आफूलाई विश्वास गर्ने मतदाता र सहयोगीहरूप्रति आभार व्यक्त गर्नुभएको हो।
संकटपूर्ण घडीमा निर्वाचनको साहसिक निर्णय ;
विगतका केही महिनाहरू मुलुकको राजनीतिक र संवैधानिक स्थिरताका लागि निकै चुनौतीपूर्ण रहेको भन्दै नेता भण्डारीले संविधानमाथि प्रहार भइरहेको अवस्थामा निर्वाचनले नै देशलाई सही बाटोमा ल्याएको उल्लेख गर्नुभयो। “संविधानको ठेली नजिक आगो पुग्दै गरेको, लोकतन्त्रको मुटुमै प्रहार भइरहेको र आम जनतामा त्रास रहेको त्यो भयानक परिस्थितिबाट देश जोगाउने अन्तिम विकल्प निर्वाचन नै थियो,” उहाँले भन्नुभयो।
लोकतन्त्रको जीतमा खुसी
आफू र आफ्नो पार्टीले हार-जितलाई केन्द्रमा नराखी निर्वाचनको पक्षमा दृढतापूर्वक उभिएको चर्चा गर्दै उहाँले भन्नुभयो— “हामीले सोचेजस्तो व्यक्तिगत परिणाम हासिल नगर्दा पनि संविधान जोगिँदै लोकतन्त्रले जितेकोमा म खुसी छु।”
विजेतालाई बधाई तथा आगामी योजना
काठमाडौँ क्षेत्र नं. १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रन्जु न्यौपानेलाई बधाई दिँदै उहाँले कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो। निर्वाचनमा पराजित भए पनि जनताको सेवा र लोकतन्त्रको सुदृढीकरणमा आफ्नो सक्रियता निरन्तर रहने प्रतिबद्धता मेनुका भण्डारीले जनाउनुभएको छ।


