![]()
काठमाडौँ, पुस १३ गते ।
काठमाडौँको नयाँ बानेश्वरस्थित छक्कुबक्कु मार्गमा शनिबार एक विशेष सामाजिक कार्यक्रम सम्पन्न भएको छ। “नेपाल देशभक्त युवा शक्ति केन्द्र” को आयोजनामा बृहत् रक्तदान, नि:शुल्क स्वास्थ्य शिविर, नि:शुल्क औषधि वितरण तथा विभिन्न सामाजिक संघ-संस्थाहरूलाई सम्मान गरिएको हो।
रक्तदान, जीवनदानको महत्त्वपूर्ण कडी
समाजमा रगतको अभावलाई कम गर्न र मानवीय सेवा भाव जगाउन आयोजित उक्त रक्तदान कार्यक्रममा युवा तथा स्थानीयहरूको उल्लेख्य सहभागिता रहेको थियो। ‘तपाईंले दिएको एक थोपा रगतले कसैको जीवन बचाउन सक्छ’ भन्ने भावनालाई आत्मसाथ गर्दै कार्यक्रममा सहभागीहरूले उत्साहपूर्वक रक्तदान गरेका थिए। स्वास्थ्य विज्ञहरूका अनुसार नियमित रक्तदानले रक्तदाताको शरीरमा नयाँ रक्तकोषिका निर्माणमा मद्दत पुग्नुका साथै समाजमा सेवाको भावना जागृत गराउन ठुलो भूमिका खेल्छ।
प्रदेश सरकारको साथ रहने,माननीय दिपेन्द्र श्रेष्ठ
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य माननीय दिपेन्द्र श्रेष्ठ ज्युले संस्थाले गरेका कार्यहरूको प्रशंसा गर्नुभयो। सम्बोधनका क्रममा उहाँले भन्नुभयो, “यस्ता सामाजिक कार्यले नागरिकको स्वास्थ्य र सुरक्षामा ठुलो टेवा पुर्याउँछ। नेपाल देशभक्त युवा शक्ति केन्द्रले गर्ने आगामी योजनाहरूमा प्रदेश सरकारको तर्फबाट हुन सक्ने सम्पूर्ण सहयोग र समन्वय गर्न म प्रतिबद्ध छु।”
निरन्तर सामाजिक सेवामा समर्पित
संस्थाका अध्यक्ष केशव सिलवाल ज्युले संस्थाको उद्देश्यबारे प्रस्ट पार्दै संस्थाले विगतदेखि नै समाजका विभिन्न क्षेत्रमा नि:स्वार्थ रूपमा काम गर्दै आएको बताउनुभयो। उहाँले भन्नुभयो, “हामीले समाजमा आइपर्ने विभिन्न समस्याहरूको समाधान र सहयोगका लागि निरन्तर काम गर्दै आएका छौँ र आगामी दिनमा पनि यस्ता रचनात्मक र सेवामूलक कार्यलाई निरन्तरता दिनेछौँ।”
कार्यक्रमको आकर्षण र सञ्चालन
स्वास्थ्य शिविरमा आएका बिरामीहरूलाई नि:शुल्क स्वास्थ्य परीक्षणका साथै आवश्यक औषधि समेत वितरण गरिएको थियो। साथै, समाजमा उल्लेख्य योगदान पुर्याउने विभिन्न सामाजिक संघ-संस्थाहरूलाई सम्मान पत्रद्वारा सम्मानित गरिएको थियो।
उक्त कार्यक्रमको सञ्चालन युवा नेता सागर भट्टराई ले गर्नुभएको थियो। उहाँले कार्यक्रमको सहज व्यवस्थापन र सञ्चालन गर्दै युवाहरूको नेतृत्वदायी भूमिकाको महत्त्वमाथि प्रकाश पार्नुभएको थियो।


