![]()
२०७७ पुस २५, काठमाडौं । पर्यटन उद्यमी एवं नेपाल–फ्रान्स उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्याममोहन श्रेष्ठको आत्मवृत्तान्त ‘काठमाडौँ–पेरिस–काठमाडौँ–रेल–बस यात्रा’ आजदेखि बजारमा आएको छ । आज काठमाडौंमा आयोजित कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशी, नेपालका लागि फ्रान्सका राजदूत फस्वाँ जाभिय लेजे र पर्यटन उद्यमी एवं लेखक कर्ण शाक्यले संयुक्तरुपमा पुस्तकको विमोचन गर्नुभयो । ‘साहसले डोर्याएको जिन्दगी’ उपशीर्षक रहेको उक्त पुस्तकमा लेखक श्रेष्ठले बाल्यकालदेखि जागिरेजीवन र आफूले झेल्नुपरेका आरोहअवरोहलाई रोचक ढङ्गले प्रस्तुत गर्नुभएको छ । सात दशक लामो जीवनयात्रामा आफूले भोगेका अनुभवलगायत विषय समेटिएको आफ्नो आत्मवृत्तान्तबारे जानकारी दिँदै श्याममोहनले “काठमाडौँमा आफ्नै जीवन बिताएको, फ्रान्स बस्दा फ्रान्सेली जस्तै जीवनयापन गरेको र फ्रान्स सरकारबाट सर्वोच्च पदकसमेत पाएको स्मरण गर्नुभयो । शताब्दीपुरुष जोशीले प्रस्तुत आत्मवृत्तान्तबाट पाँच दशकअघिको नेपालको अवस्था, विश्वमा भएका परिवर्तन र नेपाल–फ्रान्स सम्बन्धका विविध आयामबारे मिहीन ढङ्गले वर्णन गरिएको बताउनुभयो । राजदूत लेजेले फ्रान्स–नेपाल सम्बन्ध सुदृढ तुल्याउन नागरिकस्तरबाट उद्यमी श्रेष्ठले निर्वाह गर्नुभएको भूमिका अतुलनीय रहेको बताउनुभयो ।।


