Breaking News.... EverestOnlineKhabar
March 11, 2026

Loading

२०७६ चैत ३०, काठमाडौं । कोरोनाभाइरसको संक्रमणबाट विश्वका विभिन्न देशमा रहेका १४ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले संकलन गरेको विवरणअनुसार बेलायत, अमेरिका र युएईमा गरी १४ नेपालीको मृत्यु भएको हो । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समितिअन्तरर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा ८, अमेरिकामा ५, युएईमा १ जनाको मृत्यु भएको हो । यस्तै ६ सय ७५ जना गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिए ।

उनकाअनुसार अमेरिकामा ५०० बढी नेपाली संक्रमित भएका छन् भने बेलायतमा १०० बढी संक्रमित रहेका छन् । यस्तै स्पेनमा १८, जर्मनीमा ४, पोर्चुगलमा २२, अस्ट्रेलियामा ९, युएईमा १०, साउदी अरेबियामा ४, कुवेतमा ५, जापानमा १, मलेसियामा १ र हङकङमा १ जनामा संक्रमण पुष्टि भएको छ । अन्य देशमा पनि विवरण संकलनको क्रममा रहेको एनआरएनले जनाएको छ । एनआरएनएले विदेशस्थित नेपाली राजदूतावास, गैरआवासीय नेपाली संघका शाखाहरु तथा स्थानीय संघसंस्थाद्धारा प्राप्त सूचनाका आधारमा सो आँकडा तयार पारेको संघका समाचार संयोजक चिरन शर्माले जानकारी दिए ।

नेपालमा भने हालसम्म ४४ सय २६ जनाको हाराहारीमा नमुना संकलन हुँदा १२ जनामा कोरोनाको संक्रमण देखिएको छ । त्यसमा एक जना निको भएका छन् भने कसैको पनि मृत्यु भएको छैन । यसैबीच एनआरएनएले आइतबरदेखि हेल्पलाइन सेवा सुरु गरेको छ । कोरोना भाइरस संक्रमणबाट विभिन्न मुलुकमा रहेका गैरआवासीय नेपालीले सामना गरेको समस्याको सुनुवाइ गर्ने उद्देश्यले हेल्पलाइन सञ्चालन सुरु गरिएको हो ।

संघको काठमाडौँस्थित सचिवालयबाट २४ सै घण्टा सो सञ्चालन हुने एनआरएन अध्यक्ष कुमार पन्तले जानकारी दिए । कोरोना महामारीका कारणले अलपत्र परेका वैदेशिक रोजगार, विद्यार्थी वा अन्य समस्यामा परेका नेपालीले हेल्पलाइनमा फोन गरेर आआफ्ना समस्या टिपाउन सक्नेछन् । त्यसका लागि बिहान ६ देखि दिउँसो २ बजेसम्म ९८४१२८०००५ नम्बर, दिउँसो २ बजेदेखि राति १० बजे सम्म ९८०८३१२५५५ नम्बर र राति १० बजेदेखि बिहान ६ बजेसम्म ९८२३४५८२०४ मा फोन गर्न सकिनेछन् । यस्तै एनआरएनएको फेसबुक पेज र इमलेमार्फत पनि समस्या राख्न सकिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.