Breaking News.... EverestOnlineKhabar
July 29, 2026

Loading

२०७६ फागुन १३, भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) जागिर खाने थलो मात्रै बनेको बताएका छन् । सीटीईभीटीको ३२ औँ वार्षिकोत्सव कार्यक्रमका अवसरमा सोमबार सानोठिमीमा मन्त्री पोखरेलले सीटीईभीटीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै सीटीईभीटी जागिर खाने थलोमा मात्रै परिणत भएको बताए । नामअनुसारले सीटीईभीटीले काम गर्न नसकेको भन्दै उनले करारमा कर्मचारी भर्ना गर्ने, जागिर खाने र बस्ने मात्रै सीटीईभीटीको काम हो भनी प्रश्नसमेत गरे ।

सीटीईभीटीका अध्यक्षसमेत रहेका मन्त्री पोखरेलले सीटीईभीटीले पर्याप्त जनशक्ति उत्पादन गर्न नसकेकामा चिन्ता व्यक्त गरे । उनले भने, ‘सीटीईभीटीले गुणस्तरीय जनशक्ति उत्पादन गर्ने प्रतिबद्धता गरे पनि पर्याप्त जनशक्ति उत्पादन गर्न सकेको छैन, के सीटीईभीटी जागिर खाने थलोमात्रै हो ?’ सीटीईभीटीले अहिलेसम्म निजी क्षेत्रलाई अस्थायी सम्बन्धन दिँदै आए पनि त्यो सम्बन्धन स्थायी बनाउनेतर्फ चासो नदिएको उनको भनाइ थियो । उनले निजी क्षेत्रसँगको सम्बन्धन स्थायी नभएकाले सीटीईभीटीले गुणस्तरीय र आवश्यकतानुसार जनशक्ति उत्पादन गर्न नसकेको बताए ।

सीटीईभीटीमाथि जहिले पनि मन्त्रालयले हस्तक्षेप र्गयो, काम गर्न दिएन भनेर अनावश्यक आरोप लगाउने गरिएको भन्दै मन्त्री पोखरेलले भने, ‘जहिले पनि सीटीईभीटीलाई मन्त्रालयले हस्तक्षेप र्गयो भन्ने ? तपाईंहरु भन्न सक्नुहुन्छ, मेरो सचिवालयले कुन–कुन घटनाक्रममा कहिले–कहिले हस्ताक्षेप गरेको छ ? मैले अहिलेसम्म एउटा पनि निजी संस्थालाई सम्बन्धन दिएको छैन ।’

सीटीईभीटी आफू काम गर्न नसक्ने तर दोष मन्त्रालयलाई लगाउने गरेकामा रोष व्यक्त गर्दै मन्त्री पोखरेलले भने, ‘तपाईंले एउटै कर्मचारीलाई जिम्मेवारीमा राख्नुभयो ? सक्रिय प्रणाली लागू भएन, पटक–पटक कर्मचारी फेरबदलको सल्लाह दिएँ, कार्यका आधारमा कार्यदिशा तय गरी काम गर्न निर्देशन दिएँ तर लागू भएन ।’ सीटीईभीटी सीप, शिक्षा, चरित्र सिकाउने थलो हो भन्दै मन्त्री पोखरेलले आफ्नो जिम्मेवारीप्रति ध्यान दिन निर्देशन दिए । कार्यक्रममा लामो समय काम गर्ने कर्मचारीलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.