![]()
२०७६ पुस २७, भक्तपुर । भक्तपुरमा एक युवकले अन्धाधुन्ध खुर्पा प्रहार गर्दा प्रहरी हवलदारसहित ४ जना घाइते भएका छन् । भक्तपुर–२० को पाइपलाइनमा खुर्पा प्रहार गरी दुई जनालाई घाइते बनाएको सूचनाको आधारमा प्रहरी घटनास्थलमा पुगेको थियो । घटनास्थलबाट भाग्दै गरेको अवस्थामा जाजरकोट नलगाढ घर भएका २० वर्षीय रामबहादुर विकलाई पक्राउ गर्न खोज्दा विकले प्रहरीमाथि पनि खुर्पा प्रहार गरेका थिए ।
घाइते हुनेमा महानगरीय प्रहरी प्रभाग व्यासीमा कार्यरत प्रहरी हवलदार जितेन्द्र यादव र प्रहरी जवान टोलबहादुर श्रेष्ठ रहेका छन् । त्यस्तै, खुर्पा प्रहारबाट कमलविनायक बस्ने ६० वर्षीया भुनामाया थापा र ४५ वर्षीया राजमती ज्याकिबन्जार पनि घाइते भएका छन् । थापाको मध्यपुर अस्पतालबाट थप उपचारको लागि छाउनीस्थित नेपाली सेनाको अस्पतालमा रिफर गरी उपचार भइरहेको छ भने ज्याकिबन्जारको मध्यपुर अस्पताल भक्तपुरमा उपचार भइरहेको छ ।
सूचना अधिकृत प्रहरी निरीक्षक पञ्चलाल गोलेका अनुसार विकले प्रहरीको बा २ झ १८५ नम्बरको सिआरभी भ्यानको सीसा समेत फुटाएका थिए । प्रहरीको सञ्चार सेटमा समेत क्षति पुगेको छ । विकलाई पक्राउ गरी प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


