Breaking News.... EverestOnlineKhabar
July 28, 2026

Loading

२०७६ पुस २५, काठमाडौं । सामाजिक सञ्जालमा तपाईंलाई आकर्षक उपहार परेको सूचना त आएको छैन ? त्यस्तो सूचना वा जानकारीको प्रलोभनमा परेर तपाईँले त्यस्तो सूचना पठाउने व्यक्तिसँग सम्पर्क त गर्नुभएको छैन ? यदि त्यस्तो गर्नुभएको छ भने तपाईं ठगिन पनि सक्नुहुन्छ । सामाजिक सञ्जालमा उपहार परेको, महत्त्वपूर्ण पार्सल आएको भन्दै सूचना पठाएर ठगी गर्ने गिरोह काठमाडौँमा सक्रिय रहेको पाइएको छ । नेपाल प्रहरीले सामाजिक सञ्जालको प्रयोग गरी प्रलोभन देखाइ ठगी गरेको अभियोगमा दुई विदेशीसहित ५ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले फेसबुक, हवाट्सएप, भाइबर, इमोजस्ता सामाजिक सञ्जाल प्रयोग गरी ठगी गरेको अभियोगमा एकजना नाइजेरिया नागरिक, एकजना आइभरीकोस्ट नागरिक र तीनजना नेपाली नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मुख्य अभियुक्त नाइजेरिया नागरिक सिरिल चिनोन्सो इबे, आइभरीकोष्ट नागरिक आसापे अड्जी पिरेजान, नेपाली नागरिक चितवनका रामचन्द्र गैरे, ठमेलका उमेश श्रेष्ठ, र चितवनकै हरि ओझा रहेका छन् ।

विदेशी नागरिकहरुको नाममा फेसबुक खोलेर नेपालका विभिन्न व्यक्तिहरुलाई साथी बनाएर बहुमूल्य सामान, बेलायती पाउण्ड तथा अमेरिकी डलर समेत भएको पार्सल पठाइदिन्छु भन्दै इमेलमा फोटो पठाएर झुठो प्रलोभनमा पार्ने गरेको सीआईबीका प्रमुख निरज शाहीले बताए । उनीहरुले ‘सामानको फोटो फेसबुकमा पठाई सो पार्सल एअरपोर्टमा (ट्याक्स क्लियरेन्स) नभएर अड्किएको छ । सो सामान छुटाउन तपाईले ट्याक्स तिर्नुपर्छ भनि लाग्ने रकम माग्ने र ठगी गर्ने गरेको पाइएको छ ।’

उनीहरूले सामाजिक सञ्जालका अतिरिक्त नेपाली मोबाइल नम्बरबाट फोन गरी तपाईंको नाममा पार्सल पठाएको र लिन शुल्क तिर्नुपर्ने भन्दै विभिन्न व्यक्तिबाट २० लाखभन्दा माथि ठगी गरेका पाइएको प्रमुख शाहीले जानकारी दिए । महत्वपूर्ण पार्सल आएको र त्यसका लागि शुल्क तिर्नुपर्ने भन्दै उनीहरूले नेपालका विभिन्न बैङ्कको खाता नम्बर दिइ रकम जम्मा गर्न लगाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । पक्राउ परेकालाई काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी सो सम्वन्धमा थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ । सामाजिक सञ्जालमा उपहार परेको, पार्सल आएको भन्दै कुनै सूचना आए प्रहरीलाई जानकारी गराउन समेत ब्यूरोले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed