Breaking News.... EverestOnlineKhabar
July 28, 2026

Loading

२०७६ पुस २०, कञ्चनपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कालपानी विवाद तथ्य र प्रमाणका आधारमा टुङ्गो लगाउनु पर्ने बताएका छन् । प्रेस संगठन नेपाल कञ्चनपुरले आइतबार बिहान महेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा नेता नेपालले ‘महाकाली सन्धिको बेला कालापानी विवाद र त्यहाँको सैनिक क्याम्पबारे कुराकानी र छलफल भएको थियो, त्यो बेला दुबै देशले बसेर अघि बढाउने कुराकानी भएको बताए ।

उनले, ‘अहिले सरकार बलियो छ, त्यसैलाई तथ्य र प्रमाणका आधारमा कालापानी विवाद टुङ्गो लगाउनु पर्छ ।’ दुई दशक अघि भएको महाकाली सन्धिका बेला महाकाली नदीको मुहान लिम्पियाधुरा भएको र कालापानीबाट सैनिक हटाउने विषयमा छलफल गरिएको नेता नेपालको भनाइ थियो । भारत र नेपाल दुबै देशका सरकारलाई कालापानी विवाद टुङ्गोमा पुर्याउने अहिले राम्रो अवसर भएको नेता नेपालले बताए । ‘हाम्रो यता सरकार बलियो छ, उता नि सरकार बलियो छ, त्यसैले यी दुबै सरकारलाई कालापानी विवाद टुङ्गोमा पु¥याउने राम्रो अवसर छ’ उनले भने ।

नेता नेपालले भारतका लागि पनि छिमेकीलाई विश्वासमा लिने महत्वपूर्ण समय भएको बताए । ‘छिमेकीलाई विश्वासमा लिने यो बाहेक अन्य ठूलो मौका हुँदैन’ उनले भने। प्रतिनिधि सभाको रिक्त सभामुख पद चयन प्रक्रिया केही दिनपछि अघि बढ्ने नेता नेपालले बताए । ‘सभामुख चयन प्रक्रिया केही समय लम्बिएको छ, यसले छलफल गर्ने मौका मिलेको छ’ उनले भने,‘अब बैठक बसेर यसमा छलफल हुन्छ ।’ सरकारले विकासका ठूला पूर्वाधार निर्माणमा जोड दिनु पर्ने नेता नेपालको धारणा थियो ।

‘अहिलेसम्मका सरकार भन्दा यो सरकार स्थिर छ, त्यसैले ठूला ठूला बाटाघाटो, रेलमार्ग, एयरर्पोट लगायतमा संरचनामा ध्यान दिनु पर्छ’ उनले भने । सबैको चाहना समृद्धि भएकाले सरकारले जन चाहना अनुसार अघि बढ्नु पर्ने नेताले जोड दिए । यसैबीच, नेता नेपालले महाकाली नदीमा निर्माणाधिन चार लेन पुलको स्थलगत निरीक्षण गरेका छन्। उनले पुल निरीक्षणका क्रममा पुल निर्माण कार्य समयमा सकिनु पर्ने र यसलाई स्थानीयको आम्दानी तथा संस्कृतिसित जोडिनु पर्ने बताए।

‘यो महाकाली नदी हो, त्यसैले कालीमाता र शान्तिको सन्देश दिने गरी बुद्धको मूर्ति राख्न राम्रो हुन्छ’ उनले भने । पुल निरीक्षणसंगै नेता नेपालले महाकाली पुल जोड्ने ६ लेन सडकको समेत निरीक्षण गरेका छन ्। नेता नेपालसँग पुल निरीक्षणमा नेकपा केन्द्रीय सदस्य रामकुमार ज्ञवाली, कञ्चनपुर क्षेत्र नं. ३ का सांसद डा. दिपक प्रकाश भट्टसहित सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरु मानबहादुर सुनार, लालबहादुर खड्का, भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट, पूर्व मन्त्री उर्वादत्त पन्त लगायतका नेताहरुस सहभागी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed