![]()
२०७६ पुस १०, पोखरा – दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टि–२० क्रिकेटको फाइनल प्रवेशका लागि इलिमिनेटरको खेलमा विराटनगर टाइटन्सले बुटवल ब्लास्टर्सलाई १ सय ६६ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ पाएको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६५ रन बनाएको हो । विराटनगरका लागि इनिङ्सको ओपनिङ गरेका ब्याट्सम्यान सुनिल धमलाले ५४ बलमा २ छक्का र ६ चौकाको सहयोगमा ६१ रन बनाउँदै अर्धसतकीय पारी खेले ।
तेस्रो विकेटका लागि सुनिल र पुनित मेहराको ५७ रनको साझेदारी गरे । सुनिल हर्ष टंकको बलमा भीम सार्कीको हातबाट क्याचआउट हुन पुगेका थिए । लोकेश बमलाई १९ रनमा टंकले नै आउट गराए । कप्तान प्रदीप सिंह ऐरी ३३ रन र मिनाष थापा २ रनमा अविजित रहे । मोहम्मद जाइद आलम २० रनमा रनआउट हुन पुगे । पुनित मेहरा २१ रनमा अविनाश बोहराको बलमा बोल्ड भए । नोमान खानले खाता खोल्न सकेनन् ।
बलिङतर्फ बुटवलका हर्ष टंकले ४ ओभरमा २१ रन खर्चिदै २ विकेट झार्न सफल भए । अविनाश बोहरा, ललितसिंह भण्डारीको नाममा समान १–१ विकेट रह्यो । विराटनगरले दिएको लक्ष्य पछ्याउँदै बुटवल जवाफी ब्याटिङमा उत्रिएको छ । आजको खेलमा जित हात पार्ने टिम शनिबार हुने फाइनल खेलमा उपाधिका लागि चितवन राइनोजसँग सामना गर्ने छ ।


