Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

एजेन्सी ।  एक दशकसम्म विश्वकै सबैभन्दा बढी बिक्रीको रेकर्ड बनाएको स्मार्टफोनको ठाउँमा अब नयाँ कुन उपभोग्य वस्तु आउला ? यसकाे उत्तर सजिलाे छैन, तर प्रविधि क्षेत्रमा यसबारे चर्चा शुरू भएकाे छ।

एप्पल र सामसुङजस्ता पहिलो श्रेणीका उत्पादकहरुले उपभोक्ताका लागि नयाँनयाँ विशेषतायुक्त स्मार्टफोन उत्पादन गरिरहे पनि पछिल्लो समय स्मार्टफोनको बिक्री घट्न थालेको पाइएको छ। विश्वका ठूला बजारमा यी फोनको मागमा कमी आएको छ।

स्मार्टफोनको प्रयोगलाई जीवन्त राख्न चाँडै प्रयोगमा आउन लागेको पाँचौं पुस्ताको तारविहीन नेटवर्क अर्थात् फाइभजीले सहयोग गर्ने अनुमान गरिएको छ। तर कतिपय विश्लेषकहरुले स्मार्टफोनलाई अरु कुनै बिल्कुलै भिन्न उपकरणले विस्थापित गर्ने सम्भावना औंल्याएका छन्।

फ्युचर टुडे इन्स्टिच्यूटका संस्थापक आमी वेबले प्रविधिको बदलिँदो झुकावसम्बन्धी वार्षिक प्रतिवेदनमा सन् २०१८ ले परम्परागत स्मार्टफोनको अन्त्यको सुरुआत गर्ने उल्लेख गरेका छन्। उनले अबको युगमा यी उपकरणहरु आवाज, सङ्केत र सम्पर्ककै माध्यमबाट चल्ने बताएका छन्। ‘स्मार्टफोनबाट स्मार्ट वेयरेबल्स (लगाउनयोग्य वस्तु) र अदृश्य इन्टरफेसतर्फको रुपान्तरणले भौतिक संसारमा आज हामीले अनुभूत गरिरहेका कुराहरुमा आमूल परिवर्तन ल्याउनेछ’ उनले उल्लेख गरेका छन्, ‘जस्तै, कानमा राखेर सुन्ने वस्तुमा बायोमेट्रिक सेन्सर र स्पिकर रहनेछ, औंठी र ब्रासलेटले चाललाई थाहा पाउनेछ, स्मार्ट ग्लासले सूचनाहरु रेकर्ड गर्ने र देखाउनेछ।’

बजारमा केही रोकावट आए पनि अरु कतिपय विश्लेषकहरुले स्मार्टफोनलाई तत्कालै विस्थापन गर्न नसकिने बताएका छन्। ‘स्मार्टफोनको प्रयोग रोकिन्न, तर यसको आकार र रुपमा परिवर्तन हुन सक्दछ,’ एबीआई रिसर्चसँग आबद्ध विश्लेषक डेभिड म्याकक्वीनले भने, “स्मार्टफोनको बजार अझै केही वर्ष यथावत रहनेछ।’

म्याकक्वीनले हालै प्रकाशित एक रिपोर्टमा कमभन्दा कम छोएर चलाउन मिल्ने स्मार्टफोनको माग बढ्दै गएको बताएका छन्। उनले यस्ता स्मार्टफोनमा कृत्रिम प्रज्ञा (आर्टिफिसियल इन्टेलिजेन्स) तथा सङ्केतबाटै चल्ने सुविधाको खोजी भइरहेको बताए। नयाँ स्मार्टफोनमा सुधारिएको बायोमेट्रिक राख्नेतर्फ ध्यान जान थालेको छ, जस्तै अनुहार चिन्ने। साथै मोबाइलका स्क्रिनलाई पट्याउन मिल्ने अर्थात् फोल्ड गर्न मिल्ने बनाउने प्रयत्नहरु भइरहेका उनले बताए।

एबीआईको अनुसन्धानमा भनिएको छ, गूगल र अमेजनले आगामी पाँच/छ वर्षको अवधिमा स्मार्टफोनमा नवीन प्रविधि भित्र्याउन तथा त्यससँग सम्बन्धित प्रविधिमा सुधार ल्याउनेतर्फ नेतृत्व गर्न सक्नेछन्। नवीन प्रविधिको प्रयोगका क्षेत्रमा यी कम्पनीको क्षमता निकै बढी छ।

आइडीसी अनुसन्धान कम्पनीका अनुसार, विश्वमा सन् २०१८ मा स्मार्टफोनको बिक्रीमा ०.७ प्रतिशतले कमी आई करिब एक अर्ब ४५ लाख थान मोबाइल बिक्री भएको थियो। आइडीसीले मोबाइलको बजारमा सामान्य सुधार आउने र सन् २०२२ सम्ममा वार्षिक बिक्री करिब एक अर्ब ६४ करोड पुग्ने जनाएको छ। ‘हाम्रो विचारमा आगामी वर्षहरुमा स्मार्टफोनको बजारमा स्वस्थ वृद्धि हुनेछ, तर बजारको खोजी गर्न तथा प्रतिस्पर्धामा टिक्न निकै चुनौतीपूर्ण हुनेछ’, आइडीसीका विश्लेषक रायन रेथले बताए।

संयुक्तराज्य अमेरिकामा ५० वर्षभन्दा कम उमेरका ९१ प्रतिशत वयस्कहरुले स्मार्टफोनको प्रयोग गरिरहेका छन् भने १३ वर्षदेखि १९ वर्ष उमेरका बालबालिकामध्ये ९५ प्रतिशतसँग एउटा फोन रहेकाे पिउ रिसर्च सेन्टरले जनाएको छ।युरोपमा सन् २०१७ को अन्त्यसम्ममा करिब ४६ करोड ५० लाखसँग मोबाइल फोन छ। यो कूल जनसंख्याको करिब ८५ प्रतिशत हो। यी मोबाइलमध्ये दुई तिहाई स्मार्टफोन नै रहेका छन्।

टेकएनालिसिस रिसर्चका संस्थापक बब ओ–डोन्नेलले संयुक्तराज्य अमेरिका र कतिपय विकसित मुलुकमा स्मार्टफोनको बिक्री घटेको बताए। ओ–डोन्नेले सन् २०१९ मा फाइभजी र फोल्ड गर्न मिल्ने स्क्रिनका कारण मोबाइल बिक्री बढ्न सक्ने बताए। उनले स्मार्टफोनलाई अझ उन्नत प्रविधियुक्त र स्मार्ट बनाउने होडबाजी चलेकाले रुपान्तरित स्मार्टफोनले बजारमा प्रभाव कायमै राख्ने विश्वास व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed