Breaking News.... EverestOnlineKhabar
May 1, 2026

राजपामा भाँडभैलो, ठाकुरबिरुद्ध महेन्द्र उत्रिएपछि महतोलाई फाइदा

Loading

काठमाडौं  ।  राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल भित्र दुई अध्यक्षको विवादले उग्ररुप लिएको छ । अध्यक्ष मण्डलको फेरबदल अगाडिदेखि सुरु भएको आरोप प्रत्यारोप भित्रभित्रै भुँसको आगो  झै सल्किरहेको छ ।

४ मंसिरमा बसेको अध्यक्ष मण्डल बैठकमा अध्यक्षता गरिरहेका संयोजक ठाकुरलाई अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले कुनै लाभको पदमा बाहुनलाई मात्र अवसर दिएको भन्दै संयोजक ठाकुरलाई बाहुनवादी भन्दै आलोचना गरेका थिए ।

अध्यक्ष मण्डलका संयोजकलाई अर्को अध्यक्षले ‘बाहुनवादी’ भनेर सुरु भएको आक्रोशले यत्तिखेर पुरै पार्टीमै भाँडभैलो मच्चिएको छ । मधेसमा क्रियाशिल  ६ राजनीतिक दल मिलेर राजपा गठन भएदेखि अध्यक्ष मण्डलको संयोजक भएका महन्थ ठाकुरलाई अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले ‘ब्राह्मण’ लाई मात्र अवसर दिएर पार्टीलाई बाहुनवादी बनाएको आरोप लगाएसँगै  पार्टीभित्र विवाद चुलिएको थियो । आरोप लगाएकै दिन अध्यक्ष मण्डलको संयोजक समेत फेर्नुलाई ठाकुर पक्षले मानहानीको रुपमा बुझिरहेको छ ।

पार्टी एकीकरणका बखत  प्रत्येक दुई महिनामा आलोपालोमा पार्टी अध्यक्ष बनाउने सहमति भएपनि अध्यक्ष मण्डलका सदस्यहरुको समझदारीमा ठाकुरलाई नै लामो समय संयोजक मान्दै आए पनि ४ मंसिरको बैठकले संयोजकमा राजेन्द्र महतोलाई चयन गरेको थियो ।

४ मंसिरमा बसेको अध्यक्ष मण्डल बैठकमा अध्यक्षता गरिरहेका संयोजक ठाकुरमाथि रायले ‘राजपामा मधेसका कुनै जातका मान्छे नै नभएजस्तो गरी बाहुनलाई मात्र अवसर दिएर पार्टीलाई बाहुनको पार्टी बनाउन खोजेको’ आरोप लगाएसँगै विवाद सुरु भएको हो । रायले ठाकुरको व्यवहार बाहुनवादी भनेर झोक्किएपछि ठाकुर चिढिएका थिए ।

४ मंसिरको बैठकले बहुमतका आधारमा अध्यक्ष मण्डलको संयोजकमा महतोलाई जिम्मेवारी दिने निर्णय गरेपछि ठाकुर बैठकमा सहभागी भएका छैनन् । महतोले अध्यक्ष मण्डलको बैठक ९ मंसिरमा राखेपनि अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादव गृहजिल्लाबाट आउन ढिलाइ भएको भन्दै  बैठक अनिश्चितकालका लागि स्थगित गरिएको  थियो।

आफूलाई जातिवादको आरोप लागेपछि रायसँग चिढिएका ठाकुरले आफूलाई अपमानित गरिएको भन्दै माफी माग्नुपर्ने माग गरेका छन् ।
रायले २ नम्बर प्रदेश सरकारको नीति आयोगको सदस्यमा सुरेन्द्र झा तथा पार्टीको महासचिव र सहमहासचिवमा नियुक्त भएकामध्ये सबैको पृष्ठभूमि तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपां भएको र धेरैजसो बाहुन भएको भन्दै आलोचना गरेका थिए ।

जातिवादी  आरोप लागेसँगै रिसाएका ठाकुरलाई मनाउन अध्यक्ष मण्डलका संयोजक महतो र अर्का सदस्य शरतसिंह भण्डारीले धेरै पटक पहल गरेपनि आफ्नो चित्त दुखेको भन्दै ठाकुरले विभिन्न गुनासो र माग गरेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed