![]()
एजेन्सी । रियाल मड्रिडका क्रोएसियाली मिडफिल्डर लुका मोडरिचले बालन डी अरमा लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोको एक दशकदेखिको दबदबा अन्त्य गर्दै उपाधि कब्जा गरेका छन् ।
रुसमा सम्पन्न विश्वकपमा क्रोएसियाला ई फाइनल सम्म पुर्याउन मुख्य भूमिका खेल्नुअघि ३३ वर्षे मोडरिचले रियालको टोलीबाट कीर्तिमानी लगातार तेस्रो पटक च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।२००७ मा ब्राजिल तथा एसी मिलानका तत्कालिन फरवार्ड काकाले जितेयता बालन डी अरमा मेसी र रोनाल्डोवाहेक अरु खेलाडीले जित्न सकेका थिएनन् । यसबीचमा मेसी र रोनाल्डोले समान पाँच/पाँच पटक बालन डी अरको उपाधि जितेका थिए ।
दशकपछि पहिलो पटक मेसी र रोनाल्डोलाई निराश पार्दै मोडरिचले उपाधिमा कब्जा जमाउँदा उनका पूर्व रियाल टिम सहयात्री रोनाल्डो उपविजेता भए । मेसी भने पाँचौं भए । फ्रान्सले रुस विश्वकपमा उपाधि जित्दाका मुख्य नायकहरु एट्लेटिको मड्रिडका एन्टानी ग्रिजम्यान तेस्रो भए भने पेरिस सेन्ट जर्मन (पिएसजी) का किलियन एमबाप्पे चौथो भए ।


