![]()
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विकसित देशहरुले नेपालजस्ता हिमाली देशहरुको वातावरण नबिग्रियोस् भन्नेतर्फ ध्यान दिनुपर्ने बताएकी छन् । पोल्याण्डमा आयोजित जलवायु परिवर्तन संरचना सम्बन्धि महासन्धिको २४औं सम्मेलनलाई सोमबार सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनका क्षेत्रमा नेपाल नगरेको कसुरको सजाय भोग्न बाध्य भएको उल्लेख गर्दै निर्दोष राष्ट्रमाथि अन्याय हुन नदिन विश्व समुदायसँग अपिल गरिन् ।
“नगरेको नबिगारेको कसुरको सजाय भोग्नु परेको जस्तो अनुभूति हामीलाई हुने गरेको छ,” राष्ट्रपति भण्डारीले भनिन्, “निर्दोषहरू माथि अन्याय हुन नदिनु विश्व समुदायको दायित्व हो भन्ने कुरा म यहाँहरु सबैलाई स्मरण गराउन चाहन्छु ।”
नेपाल हिमाल, पहाड र तराई मिलेर बनेको अति कम विकसित राज्य भएपनि जलवायु परिवर्तनको दुष्प्रभावको मारमा भने निरन्तर पर्दै आएको प्रति उनले दुःख व्यक्त गरिन् । नेपालले विश्व वातावरणलाई असर गर्ने कार्बन उत्सर्जन ज्यादै न्यून गरे पनि सबैभन्दा बढी पीडित बन्नु परेको उनले जनाइन् ।
जलवायु परिवर्तनका कारण प्राकृतिक स्रोतमा परेको नकारात्मक प्रभावले गाउँघरको खानेपानी प्रणाली प्रभावित हुँदै गएको उनले बताइन् । राष्ट्रिय आयको ठूलो हिस्सा प्राकृतिक प्रकोपबाट उत्पन्न समस्या समाधानमा खर्चिनुपर्दा यसले नेपालको विकासलाई समेत प्रभावित गरेको धारणा उनले राखिन् ।
जलवायु परिवर्तनमा कार्वन उत्सर्जन बढी गर्ने विकसीत राष्ट्रको हात भएपनि केही नबिगार्ने नेपालजस्ता देश बढी प्रभावित बन्नु परेको भनाइ उनको थियो । हालै सार्वजनिक गरिएको आइपिसिसीको विशेष प्रतिवेदनले तय गरेको १.५ डिग्री सेल्सियस तापक्रम स्थिर राख्ने थ्रेसहोल्डले विश्व समुदायलाई अझ प्रतिबद्ध भई कार्बन उत्सर्जन न्यून गर्ने बाटोमा लाग्न प्रेरित गर्नेछ भन्ने विश्वास उनले व्यक्त गरिन् ।
नेपालले ‘शिवालिक’का रुपमा परिचित चुरे क्षेत्रमा एकीकृत रुपमा वातावरण संरक्षण तथा जीविकोपार्जनका कार्यक्रमहरु लागू गर्न राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अगाडि बढाएको जानकारी उनले दिइन् । उक्त परियोजनाले यस क्षेत्रको भूभाग मात्र होइन, छिमेकी मुलुकहरुको वातावरण संरक्षण तथा सम्बद्र्धनमा समेत ठूलो टेवा पुग्ने विश्वास उनले व्यक्त गरिन् ।


