![]()
बीबीसी । जर्जियामा भएको निर्वाचनमा सालोम जुराबिशभिली राष्ट्रपतिमा निर्वाचित भएकी छन् । सत्तारुढ दलका तर्फबाट उम्मेदवार भएकी सालोम जर्जियाको पहिलो महिला राष्ट्रपति भएकी छन् ।
फ्रान्समा जन्मेकी पूर्वकूटनीतिज्ञ सालोमले करिब ६० प्रतिशत मत प्राप्त गरेकी छन् । राष्ट्रपतिका लागि बुधबार दोस्रो चरणको मतदान भएको थियो । तर, विपक्षी दलहरुले मतदानमा धाँधली भएको जनाउँदै सडक प्रदर्शन गर्ने बताएका छन् ।
११ विपक्षी दलको गठबन्धनबाट उम्मेदवार भएका ग्राइगोल भाशाजले ४० प्रतिशत मत प्राप्त गरेका छन् । हाल निर्वासनमा रहेका पूर्वराष्ट्रपति मिखाइल साकासभिलीको नेतृत्वमा ११ दलको गठबन्धन निर्माण गरिएको थियो ।
यो निर्वाचनलाई जर्जियाको लोकतान्त्रिक अभ्यास र जनताको अभिरुचि परीक्षणकारुपमा पनि हेरिएको छ । जर्जियाले युरोपेली युनियन र नेटोको सदस्यताका लागि पहल गरिरहेको छ ।
जर्जियामा ३५ लाख मतदाता रहेका छन् । निर्वाचनमा करिब ५६ प्रतिशत मतदान भएको थियो ।


