![]()
काठमाडौ । पूर्व प्रधानमन्त्री एवक नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पार्टीका केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँड गर्दा प्राविधिक पाटोलाई पनि ध्यान दिइने बताउनु भएको छ ।
एभरेष्ट अनलाइनखबरसंग कुरा गर्दै नेता खनालले केन्द्रीय सदस्यहरुको योग्यता, क्षमता, सीप, दक्षता, प्रभावकारिता, रुचीको बिषय लगायतका बिषयमा गहन अध्ययन गरेर मात्रै जिम्मेवारी दिइने स्पष्ट पार्नुभयो । यसका लागि केन्द्रीय सचिवालय बैठकमा निरन्तर छलफल भैरहेकाले यसको टुंगो लाग्न केही दिन अझै लाग्ने उहाँले बताउनुभयो ।
खनालले भन्नुभयो, ’सकेसम्म केन्द्रीय सदस्यहरुको कार्यबिभाजन छिटो टुंग्याइन्छ, नसकिए बैठक थप केही दिन लम्बिने छ ।’
केन्द्रीय सदस्यको कार्यबिभाजन र पोलिटव्युरो गठनका विषयमा नेकपाका शीर्ष नेताहरुबीच सहमती बन्न नसक्दा ढिलाई हुदै गएको खनालले स्वीकार गर्नुभयो । केन्द्रीय सदस्यको कार्यबिभाजन पछि मात्रै जनवर्गीय संगठनको एकीकरण प्रक्रियाको विषयमा प्रवेश गर्ने उहाँले बताउनुभयो ।
तत्कालिन नेकपा एमाले र माओबादी केन्द्रबिच एकिकरण भएर नेकपा बनेको ६ महिना बितिसम्दापनि पार्टीका केन्द्रीय सदस्यहरु भने जिम्मवारबिहीन बनेका छन् । जसको असर पार्टीको प्रदेश र जिल्ला तहसम्म देखिएको छ । पार्टीले गर्ने सबै निर्णय सचिवालय बैठकबाट मात्र हुने गरेको भन्दै पछिल्लो समय तल्लो तहका नेता कार्यकर्ताले नेतृत्वको कार्यशैलीप्रति प्रश्न उठाउदै आएका छन् ।


