![]()
धनुषा । सप्तरीमा भएको बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई प्रदेश नम्बर २ को सरकारले एक-एक लाख रुपैयाँ राहत दिने भएको छ। प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले मृतकका परिवारलाई एक-एक लाख रुपैयाँ राहतस्वरुप दिने बताए।
दुर्घटनामा घाइते भएकाको अवस्था तथा मृतकलाई श्रद्धाञ्जली दिन सप्तरी आएका मन्त्री यादवले घाइते भएकाको उपचारमा लाग्ने खर्चसमेत प्रदेश सरकारले व्यर्होने बताए।
सुनसरीको वराह क्षेत्र र चतराधाम दर्शन गरेर फर्केका यात्रु बोकेको को १ ख २७९९ नम्बरको बस शुक्रबार अनियन्त्रित भएर सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१० मा रहेको पोखरीमा खसेको थियो।
दुर्घटनामा परी डाक्नेश्वरी नगरपालिका–५ की ७० वर्षीया वेचनीदेवी यादव, सोही नगरपालिका वडा नम्बर २ की ६० वर्षीया शिकिलादेवी साह, वडा नम्बर ४ का ५५ वर्षीय दिनेश रजक, सोही वडाकी ५० वर्षीया बौकीदेवी रजक र वडा नम्बर ५ की ६० वर्षीया भुखनीदेवी यादवको घटनास्थलमै मृत्यु भएको थियो। उक्त दुर्घटनामा ४८ जना यात्रु घाइते भएका थिए।


