![]()
काठमाडौं । मुलुक विकासका लागि शीर्ष नेताहरुबाटै सबैभन्दा बढी आश गरिने हो । तर, बिभिन्न बाहनामा शीर्ष नेताहरु नै जिम्मेवारीबाट पन्छिन थालेपछि यसको समग्र अशर मुलुकमाथि पर्ने गर्दछ ।
यस्तै भएको छ, विकास समितिमा । प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपाका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल सदस्य भएपनि उनीहरुको उपस्थिति लगभग शून्य नै छ ।
समितिकी सभापति कल्याणी खड्काका अनुसार समितिको बैठकमा कांग्रेस सभापति देउवा एक पटक पनि सहभागी भएका छैनन् भने नेकपाका वरिष्ठ नेता खनाल एउटा बैठकमा मात्र सहभागी भएका छन ।
हालसम्म औपचारिक रुपमा १२ पटक र आधा दर्जन अनौपचारिक बैठक बसिसकेको भएपनि शीर्ष नेताहरु अनुपस्थित हुने गरेकाले निर्णय प्रक्रियामा समस्या भैरहेको खड्काले बताइन ।
समितिमा पदेन सदस्य बाहेक २७ जना सांसद रहने व्यवस्था छ। बैठकका लागि ५१ प्रतिशत सदस्य आवश्यक हुन्छ। तर १४ जना पनि सहभागी नहुँदा मंगलबारको बैठक स्थगित भएको छ।


