Breaking News.... EverestOnlineKhabar
May 1, 2026

पार्टी भित्रको गुटउपगुट मिलाउँदा मिलाउँदा हायलकायल भएको छु : देउवा

Loading

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले घरमा त झगडा र कलह हुने बताउँदै पार्टीभित्रको मतभेद सामान्य भएको बताएका छन् । नेपाल प्रेस युनियन मोरङले  विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा  देउवाले भने, “झगडा नभएको कुनै घर छ ? देखाउनुस् त । घरजस्तै पार्टीमा पनि झगडा र विवाद हुन्छन् । यसलाई मिलाउने हो । म मिलाउने प्रयास पनि गर्दैछु ।”

उनले महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य डा. शेखर कोइराला र नेतृ सुजाता कोइराला विराटनगर आई मिलेको सन्देश दिँदा आफू नआत्तालिएको बरु यसले अब पार्टीको एकतामा सकारात्मक सन्देश पुगेको बताए । देउवाले भने, “परिवार त्यसपछि गाउँ अनि जिल्ला र पार्टी सबै मिल्नु राम्रो कुरा हो । मिलेरै अघि बढ्ने हो ।”

पत्रकार सम्मेलनमा कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइराला पनि देउवासँगै थिए । कोइराला परिवारमा जस्तै अब कांग्रेस पार्टीभित्रको झगडा पनि मिल्ने देउवाले बताए । पार्टी सञ्चालन गर्नु कठिन काम भएको देउवाको भनाइ थियो । देउवाले पार्टीमा रहेको समूह, उप–समूह, गुट र उप–गुटले आफू पनि दिक्क भएको बताउँदै मिलाउने प्रयासमा लाग्दा हायल कायल भएको सुनाए ।

पार्टीमा एक भएको फोरम लोकतान्त्रिक मिलाउने क्रममा उपसभापति मनोनित गर्नु राजनीतिक निर्णय भएको भन्दै उनले विधान नमिचिएको दाबी गरे । नेविसंघको विषय मिलिसकेको चर्चा गर्दै देउवाले महासमिति बैठक नसर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed