Breaking News.... EverestOnlineKhabar
May 1, 2026

खशोग्जी हत्या बारेको टेप ट्रम्पले ‘सुन्नै नसक्ने’

Loading

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले साउदी पत्रकार जमाल खशोग्जीको हत्याको श्रव्य टेपबारे आफूलाई सबै जानकारी प्राप्त भएको बताएका छन्। तर उनले त्यो अडियो टेप आफूले नसुन्ने बताएका छन्। उनको भनाइमा त्यो श्रव्य सामग्री निकै “पीडादायी र हिंसात्मक” छ।

साउदी पत्रकारको हत्याको विषयमा अमेरिकी अनुसन्धान चलिरहेको बारेका विवरणहरू बाहिर आइरहेका छन्। उनले भने, “त्यो टेप पीडादायी छ, के सुन्ने? सुन्नेले सबै सुनिसके र मलाई भनिसके। एकदमै हिंसात्मक छ।”

अमेरिकी गुप्तचर निकाय सीआईएको निष्कर्षमा पत्रकार खशोग्जीको हत्या गर्ने निर्देशन साउदी युवराज मोहम्मद बिन सलमान आफैँले दिएका थिए भन्ने विवरण बाहिर आइसकेका छन्। तर ट्रम्पले ती विवरणहरू अपुष्ट भएको बताउँदै उनी आफ्नो आफ्नो देशको एक प्रमुख मित्रशक्ति साउदी अरेबियालाई गुमाउने पक्षमा नरहेको बताएका छन्।

साउदी अरेबियाले चाहिँ खशोग्जीको हत्यामा आफ्ना युवराजको कुनै भूमिका नरहेको बताउँदै आएको छ। साउदी अरेबिया सरकारका कटु आलोचक रहेका खशोग्जीको गत अक्टोबर २ मा इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा हत्या भएको थियो। उनी एक चर्चित पत्रकार थिए, जसले अफगानिस्तानमा सोभियत संघको अतिक्रमणदेखि ओसामा बिन लादेनको उदयसम्मका विषयमा कैयौँ साउदी समाचार संस्थाका लागि समाचार लेखे।

दशकौँसम्म उनी साउदी राजपरिवारको निकट रहे र सरकारको सल्लाहकारका रूपमा पनि उनले काम गरे। तर पछि उनले राजपरिवारको विश्वास गुमाए र गत वर्ष उनी अमेरिकामा निर्वासनमा गए।

खशोग्जी

त्यहाँबाट उनले अमेरिकी पत्रिका द वाशिङ्टन पोस्टका लागि मासिक स्तम्भ लेख्न थाले, जसमा उनले साउदी युवराज मोहम्मद बिन सलमानका नीतिहरूको आलोचना गरे। आफ्नो पहिलो स्तम्भमा खशोग्जीले विरोधी स्वरमाथि दमन गर्न लागेका युवराज मोहम्मदले गिरफ्तार गराउन सक्ने आशङ्का व्यक्त गरेका थिए।

बेपत्ता हुनु तीन दिनघि बीबीसीको न्यूजआवर कार्यक्रममा उनले भनेका थिए, “विरोधी हुँदैमा मानिसहरू गिरफ्तार भइरहेका छैनन्, स्वतन्त्र विचार राख्नेहरू पनि गिरफ्तार गरिँदैछन्।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed