![]()
विराटनगर । कोइराला परिवारका तीन नेता आइतवार विराटनगरमा आयोजित एक कार्यक्रममा एकै मालामा देखिए । कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइराला फाउन्डेनसनको आयोजनामा आइतवार एउटै मालामा उनिएका हुन् । सुजाताको विशेष पहलमा आयोजित गिरिजाप्रसाद कोइराला फाउन्डेसनको कार्यक्रममा पार्टीमा स्पष्ट सन्देश दिने गरी तीन कोइराला एकै ठाउँमा देखिएका हुन् ।
त्यस क्रममा बीपी पुत्र डाक्टर शशांक, गिरिजापुत्री सुजाता र केशव–नोना पुत्र डा. शेखर कोइरालाले कार्यालयको उद्घाटन संयुक्तरूपमा गरेका हुन् । १४ औँ महाधिवेशनमा सभापतिका आकांक्षी ठानिएका शेखर र शशांकलाई एकै ठाउँ उभ्याएर उनीहरुले परिवारको लिगेसी कायमै राख्ने सन्देश दिन खोजेका छन् ।
गत कात्तिक २५ गते सुजाताले मण्डिखाटारस्थित आफ्नो निवासमा वरिष्ठ नेता रामचन्द्र पौडेल, अर्जुननरसिंह केसी, डा. रामशरण महत, प्रकाशमानसिंह र कोइराला दाजुभाइलाई भेला गराएका थिइन् । जसलाई सुजाताले पार्टीको भावी रणनीतिलाई लिएर ‘राजनीतिक वार्ता’ भनेकी छन् ।
सुजाताले बाबुको निधन भएपछि आफ्नो अंशमा आएको ९ कट्ठा जग्गामध्ये आधा ‘गिरिजाप्रसाद कोइराला फाउन्डेसन’का नाममा राखेकी थिइन् । त्यही जग्गामा बनेको साढे दुई तले भवनमा फाउन्डेसनको प्रदेश कार्यालय स्थापना भएको हो ।
फाउन्डेसनले कार्यालय परिसरमै गिरिजाप्रसाद स्मृति सङ्ग्रहालय बनाउने निर्णय गरिसकेको छ । पछिल्लो समय देश दौडाहामा रहेका नेता शेखरलाई १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बनाउने गरी कोइराला परिवार र उनीहरुका समर्थकहरुले आवश्यक रणनीति पनि बनाइरहेका छन् ।


