![]()
काठमाडौं। राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणाले कमल थापाकै कारण पार्टी एकता प्रक्रिया रोकिएको आरोप लगाएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा राणाले परिपक्व तरिकाले एकता गर्नका लागि ४–५ दिनको समय माग्दा थापाले नमानेको जिकिर गरे । एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहोनी र आफूले केही समय गम्भीर छलफल गरेर एकता घोषणा गरौँ भन्दा थापा नमानेको राणाले बताए ।
राणाले कमल थापाको ‘तातै खाउँ जल्दै मरौँ’ प्रवृत्तिका कारण एकता प्रक्रिया तत्कालका लागि रोकिएको बताए । तीनवटै राप्रपा एकताका लागि आफू अझै पनि तयार रहेको भन्दै राणाले हतारमा एकता गरेर प्रभावकारी नहुने बताए । एकताका लागि भएको छलफलमा महत्वपूर्ण विषयमा सहमति जुटिसके पनि पार्टीको झण्डा, चिन्ह र नाम टुङ्गो नलागेको राणाले जानकारी दिए ।
कमल थापाले पार्टीको नाम, चुनाव चिन्ह र झण्डा राप्रपा नेपालकै कायम राख्नुपर्ने अडान राखेकाले पनि एकतामा असर परेको राणाले बताए ।


