![]()
काठमाडौं । घर, कार्यालय वा इन्टरनेटको पहुँच पुगेका जुनसुकै स्थानबाट पनि अब सहज रुपमा धितोपत्र कारोवार गर्न सकिने भएको छ।नेपाल स्टक एक्सचेञ्जले पूर्ण स्वचालित अनलाइन कारोवार प्रणाली सञ्चालनमा ल्याएको हो। अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार आयोजित कार्यक्रममा पूर्ण स्वचालित अनलाइन कारोवार प्रणालीको शुभारम्भ गरेका हुन्।
शेयर कारोवार गर्न चाहने लगानीकर्ताले धितोपत्र दलाल व्यवसायी कहाँ गएर कारोवार सम्बन्धी व्यक्तिगत विवरण खुल्ने खाता खोलेपछि घर, कार्यालय वा जुनसुकै स्थानबाट पनि सहजै कारोवार गर्न सक्नेछन्।
स्टकले गत साउन १ गतेदेखि परीक्षण गरिरहेको पूर्ण स्वचालित अनलाइन प्रणालीमा धितोपत्र दलाल व्यवसायी सबै जोडिएका छन्। उनीहरुले आवश्यक भौतिक तयारीसमेत सबै गरिसकेका छन् । शेयर कारोवारलाई अन्तर्राष्ट्रियस्तरको बनाउने लक्ष्यसाथ नयाँ प्रविधि जडान गरिएको हो।
यसअघि शेयर कारोवार गर्न चाहनेले धितोपत्र दलाल व्यवसायीको कार्यालय अनिवार्य रुपमा नै जानुपर्ने बाध्यता थियो। नयाँ प्रणालीको जडानसँगै कारोवार गर्दै आएकाले दलालमार्फत ‘युजरनेम र ‘पासवर्ड’ प्राप्त गर्नेछन्। त्यसका लागि व्यक्तिगत विवरण उपलब्ध गराउनुपर्ने स्टकका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिए।
व्यक्तिगत विवरणका लागि इमेल ठेगाना र मोबाइल नम्बर अनिवार्य गरिएको छ। पूर्ण स्वचालित अनलाइन प्रणालीको कार्यान्वयनसँगै शेयर बजारमा सर्वसाधारणको पहुँच क्रमिक रुपमा बढ्दै जाने र सो प्रणाली नेपालको पूँजी बजारको कोशेढुङ्गा सावित हुने विश्वास स्टकले लिएको छ। गत साउन १ गतेदेखि परीक्षणको रुपमा रहेको उक्त प्रणालीको सञ्चालनपछि बजार विस्तार हुने, कारोवारमा वृद्धि हुने तथा शेयरमा लगानीकर्ताको समेत बढावा हुने बताइन्छ।
अर्थमन्त्री डा खतिवडाले संस्थागत लगानीकर्तालाई समेत धितोपत्र बजारमा प्रवेश गराउने प्रयासमा सरकार लागि परेको बताए। बजारको विविधिकरणका लागि कमोडिटी मार्केट, म्युचअल फण्डको विस्तारलाई समेत जोड दिइएको स्पष्ट पार्दै डा खतिवडाले भौतिक पूर्वाधारको विकासका लागिसमेत जोड दिइएको उल्लेख गरे।


