![]()
पोखरा । पोखरा प्रिमियर लिग (पीपीएल) मा काठमाडौं रोयल्सलाई ६ विकेटले पराजित गर्दै चितवन राइनोज फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं रोयल्सले दिएको ९५ रनको लक्ष्य पछ्याएको चितवनले १८.२ ओभर खेल्दै ४ विकेट गुुमाएर लक्ष्य पूरा गर्यो ।
चितवनको जितका लागि चौथो र पाँचौं नम्बरमा मैदान छिरेका स्मीत पटेल र आरिफ शेखले ५७ रनको साझेदारी पारी खेलेर चितवनलाई जित नजिक पुुर्याएका थिए । चौथो विकेटका रुपमा स्मीत पटेल आउट भएपछि मैदान प्रवेश गरेका सन्नी पटेलले १८ ओभरको दोस्रो बलमा चौका प्रहार गर्दै खेल जिताएका हुुन् ।
चितवनको जितका लागि स्मीत पटेलले सर्वाधिक ३८ रन बनाए । उनले ४३ बलको सामना गर्दै ३ चौकाको सहयोगमा ३८ रन बनाए भने उनलाई साथ दिएका आरिफ शेखले २० रन बनाए ।
त्यस्तै, चितवका लागि ओपनिङ ब्याट्सम्यान हरिशंकर शाहले २६ रन बनाएका थिए । चितवनविरुद्ध दोस्रो ओभरको पहिलो बलमा भरपर्दा ओपनिङ ब्याट्सम्यान अनिल कुुमार शाह १ रनमा आउट भए भने ४.१ ओभरमा तेस्रो स्थानमा मैदान प्रवेश गरेका कप्तान पारस खड्का २ रनमा आउट भएका थिए । तेस्रो विकेटका रुपमा ओपनिङ ब्याट्सम्यान हरिशंकर शाह पवेलियन फर्किएका थिए ।
यसअघि पहिलो इनिङ्समा टस जितेर ब्याटिङ गरेको काठमाडौं रोयल्सले १९.३ ओभरमा सबै विकेट गुमाउँदै ९४ रन बनाएर चितवनाई ९५ रनको लक्ष्य दिएको थियो । काठमाडौंका लागि छैठौं विकेटका रुपमा मैदान प्रवेश गरेका कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३० रन बनाए । त्यस्तै, काठमाडौंका लागि ओपनिङ ब्याट्सम्यान जयकिसन कोल्सावालले २५ रन बनाएका थिए भने कप्तान मल्ल र कोल्सावालले ३८ रनको साझेदारी खेले ।
जितसँगै चितवन राइनोज मंगलबार हुुने फाइनल खेलमा पोखरा पल्टनसँग प्रतिस्पर्धा गर्नछ । पोखरा पल्टन समूह चरणको शीर्ष स्थानमा रहँदै शनिबार नै फाइनल प्रवेश गरिसकेको छ । सर्वाधिक पुरस्कार राशीको पीपीएलको विजेता टोलीले २७ लाख प्राप्त गर्नेछ भने उपविजेताले १० लाख पाउनेछ


