Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

काठमाडौं । लामो समयदेखि धूलोधुँवाले आक्रान्त काठमाडौंमा जाडो सुरू भएयता प्रदूषण ह्वात्तै बढेको तथ्यांकले देखाउँछ। यसले साना उमेरका केटाकेटीमा श्वासप्रश्वासको समस्या देखिने क्रम बढेको छ।

वातावरण विभागको तथ्यांकअनुसार गत  काठमाडौंको प्रदूषण उच्च छ। सबभन्दा बढी रत्नपार्क र शंखपार्कमा छ। यी दुवै आउजाउ बढी हुने ठाउँ हुन्। रत्नपार्कमा प्रदूषण दर (पिएम) गत बिहीबार ८२.४७ मिलिग्राम प्रतिघनमिटर पुगेको थियो। यो मापदण्डभन्दा दोब्बर हो। त्यसपछि थोरै घटबढ हुँदै सोमबार ६६.८६ र मंगलबार ७४.८२ छ। त्यस्तै, शंखपार्कको प्रदूषण सोमबार ४७.५२ मिलिग्राम प्रतिघनमिटर थियो। मंगलबार ५४.३४ पुगेको छ।

काठमाडौंको न्यूनतम मापदण्ड ४० मिलिग्राम प्रतिघनमिटर हो। विभागले मापदण्डभित्र परे हरियो र बढी भए रातो रङले संकेत गर्छ। अहिलेको प्रदूषण ‘रेड जोन’ मा पर्छ।

धूलोका कण आँखाले देख्न सकिन्न। हाम्रो नाकका रौंले पनि छेक्न नसक्ने वैज्ञानिकहरूले पुष्टि गरेका छन्। त्यही भएर प्रत्येक साससँगै हामी यी कण फोक्सोमा हुलिरहेका हुन्छौं। यसले साना नानीबाबुहरू सबभन्दा बढी प्रभावित हुन्छन्। यसको असर उनीहरू झेल्न सक्दैनन् र बिरामी पर्छन्।

इसान अस्पतालका बालरोग विशेषज्ञ डाक्टर ज्योतिरत्न धाख्वाका अनुसार पछिल्लो समय श्वासप्रश्वासका बिरामीको चाप बढ्दो छ। विगतमा रुघाखोकी र सास फुल्ने रोग लागेका केटाकेटी फेरि बल्झेर ‘फलोअप‘ निम्ति धाइरहेका छन्।

‘पछिल्ला वर्ष केटाकेटीमा श्वासप्रश्वासको समस्या बढेको छ,’ डा. धाख्वाले सेतोपाटीसँग भने, ‘अब चिसो लाग्दै जाँदा झनै बढ्छ। यसमा प्रदूषणको ठूलो भूमिका छ।’

काठमाडौं ‘धूलोधुवाँ च्याम्बर’ भन्दा कम छैन। प्रदूषणको ‘उत्प्रेरक’ मानिने जाडो यामसँगै काठमाडौं खाल्डो धूलोधुवाँले निस्सासिँदै जान्छ। आउँदा दिनमा जति चिसो बढ्छ, समस्या उति थपिन्छ। मंसिर–पुस लाग्नासाथ धूलोधुवाँ गुम्सिने क्रम बढेर जान्छ। यसको संकेत अहिल्यै देखिइसकेको छ।

केटाकेटीमा श्वासप्रश्वास रोगको प्रकोप धेरै छ। श्वासनली सुन्निने (ब्रोङकाइटिस), दम (आस्थमा) र नाक सुन्निने (राइनाइटिस­) समस्या सबैभन्दा धेरै पाइएको छ। शल्यक्रियाबाट जन्मिएका बच्चामा धूलोधुवाँको असर बढी हुने डाक्टरहरू बताउँछन्। धूलोधुवाँले छाला, आँखा र नाक एलर्जीको समस्या पनि ल्याएको छ। छाती घ्यारघ्यार हुने, स्याँस्याँ हुने र लगातार खोकीका बिरामी पनि थुप्रै आइरहेका छन्। ‘नेबुलाइजर’ प्रयोग गर्नुपर्ने अवस्थाकै टन्नै छन्। नेबुलाइजर भनेको श्वासप्रश्वास सहज बनाउन प्रयोग गरिने उपकरण हो।

कान्ति बाल अस्पतालको तथ्यांकले पनि पछिल्लो १० वर्षमा दम, निमोनिया, जटिल रुघाखोकी लगायत श्वासप्रश्वासका बिरामी ५० प्रतिशत बढेको देखाउँछ। यही क्रम रहे २० वर्षमा दोब्बर पुग्ने डाक्टरहरूको अनुमान छ। श्वासप्रश्वासका बिरामी बढेपछि कान्तिले छुट्टै ओपिडी सञ्चालन गर्दै आएको छ।

खासगरी निर्माणस्थल र धुलाम्मे सडक वरिपरि धूलोका कण सक्रिय हुने भएकाले त्यहाँका केटाकेटी बढी बिरामी पर्छन्। हावामा उड्दै गर्दा तिनै धूलोका कण पावर प्लान्ट, सवारीसाधन तथा उद्योगबाट निस्कने सल्फर–डाइअक्साइड र नाइट्रोजन–अक्साइडजस्ता ग्याससँग मिसिन्छन्। र, स्वास्थ्यका निम्ति अझ हानिकारक हुन्छन्।

जाडो याममा प्रदूषण बढ्नुका केही प्राविधिक र सामाजिक कारण छन्।

चिसो बढेपछि हामी न्यानो हुन आगो, स्टोभ, कोइला, भुसेचुह्ला लगायत बाल्छौं। ठाउँ–ठाउँमा फोहोर र टायरहरूमा आगो सल्काइन्छ। जहीँतहीँ आगो ताप्ने क्रम बढ्नाले गर्मी यामभन्दा जाडोमा कार्बन–मोनो–अक्साइड उत्सर्जन धेरै हुन्छ।

अर्को सवारीबाट निस्कने धुँवा हो। यो जाडोमा बढी हुन्छ। सवारीको इन्जिन चिस्सिएको हुन्छ। स्टार्ट गरेर कुदाउनुअघि निकै बेर ‘अन’ गरेर राख्नुपर्छ। बाटो कुहिरोले ढाकिने हुँदा सवारीको गति सुस्त हुन्छ। फेरि स्टार्ट गर्न झमेला मानेर गाडी केही बेर नचलाउँदा पनि स्टार्टमै राखिन्छ। यी गतिविधि हामीलाई सामान्य लागे पनि यसबाट धुँवाको मात्रा बढिरहेको हुन्छ।

जाडोमा कोठा न्यानो पार्न कोइला र आगो बालिन्छ। कतिले त रातभरि बालेरै छाड्छन्। त्यही धुवाँको बीचमा केटाकेटी सुताइन्छ। ‘भर्खर जन्मेको शिशुलाई त आगोनजिकै लगेर सेकाउने चलनै छ,‘यसले सिधै उनीहरूको फोक्सोमा असर गरिरहेको हुन्छ।’

विश्वकै दस प्रदूषित सहरमध्ये नवौंमा पर्ने दिल्लीले धूलोधुवाँको जोखिमबाट बच्न जाडो यामलाई लक्ष्य गरेर विभिन्न उपाय अपनाउन थालेको छ।जाडो बढेसँगै दिल्लीमा केटाकेटीको खेलकुद सबभन्दा बढी प्रभावित हुन्छ। चिसो र प्रदूषणका कारण उनीहरू खेल मैदानमा कमै देखिन थाल्छन्। यसपालि यो क्रम सुरू भइसकेको भारतीय सञ्चार माध्यमहरूले लेखेका छन्।

नयाँदिल्लीमा प्रदूषणबाट अनुहार बचाउन ‘पोलुसन गार्ड’ सनक्रिम र स्याम्पुको बजार ह्वात्तै बढेको छ। प्रदूषण नियन्त्रण निम्ति गाडी हिँड्ने रुट फेरिएका छन्। धेरै धुवाँ उडाउने गाडीमा रोक लगाइएको छ। डिजेलबाट चल्ने जेनेरेटर र अन्य मेसिनरी प्रयोगमा प्रतिबन्ध लगाइएको छ। धुवाँको मुश्लो छाड्ने इँटाभट्टा यही नोभेम्बर १ देखि १० सम्म बन्द गरिने भएको छ। एउटा कोइला कारखाना पनि बन्द गरिएको छ।

हरियाणाको खेतमा गरिने आगलागीले दिल्लीमा प्रदूषण बढाउँछ। यसलाई रोक्न गीति सन्देश बनाइएको छ। तिहारमा पटाका नपड्काउन त्यहाँको सर्वोच्च अदालतले आदेश दिएको छ। यति मात्र होइन, दिल्लीमा निजी कारमाथि अल्पकालीन प्रतिबन्ध लाग्न सक्नेछ। प्रदूषणस्तर बढे जाडो यामभरि कार चलाउन रोक्न सकिने अधिकारीहरूले बताएका छन्।

काठमाडौं दिल्लीजत्तिकै प्रदूषित छैन। तर, यहाँको भूगोलले थोरै प्रदूषणलाई पनि जोखिमपूर्ण बनाइदिन्छ। जाडोमा काठमाडौंको वायुमण्डलमा चिसो हावाको बाक्लो तह जमेको हुन्छ। यो तह गर्मीमा पातलो हुन्छ। सजिलै बहन्छ। जाडोमा भने जमेरै बस्छ।

जमिनको सतहबाट उड्ने धूलोधुँवाका कण माथिल्लो तहमा पुगेपछि हावाको बहावसँगै यताउति फैलिनुपर्ने हो। चिसोमा यस्तो हुन पाउँदैन। धूलोधुवाँका कणले बाक्लो हावा छिचोल्न सक्दैन र फेरि वायुमण्डलतिरै फैलिन्छ। यसले गर्मीमा भन्दा जाडोमा प्रदूषण बढ्छ।

काठमाडौं अन्य सहरजस्तो खुला छैन। यहाँबाट धूलोधुवाँ निकास हुने बाटो कम छ। चारैतिर पहाड घेरिएकाले धूलोधुँवा बोतलमा भरेको धुवाँजस्तै यही खाल्डोमा जम्मा हुन्छ। यहाँबाट निस्कने धूलोधुवाँ त्यसै त बाहिर जान गाह्रो छ, जाडोमा त झन् टम्म टालिएझैं हुन्छ। कचौरामा धुवाँ भरेर माथिबाट छोपिदिँदा जसरी धुवाँ गुम्सिन्छ, त्यसरी नै यहाँको धूलोधुवाँ पनि गुम्सिएर बस्छ।

उपत्यका वरिपरि अग्ला पहाड छन्। बाहिरबाट आउने हावा यी पहाडले छेक्छन्। काठमाडौंमा हावा छिर्ने तीन बाटा मात्र छन्– चोभार हुँदै बागमतीले बनाएको गल्छी, चन्द्रागिरि र नागार्जुनबीचको थानकोट–भीमढुंगा भञ्ज्याङ र नागार्जुन–ककनीबीचको मुड्कु र तीनपिप्ले भञ्ज्याङ।

दक्षिणी हावा बागमती गल्छी भएर आउँछ भने पश्चिमी हावा थानकोट–भीमढुंगा भएर। यी दुई प्रणाली नै काठमाडौंमा सक्रिय हुन्छन्। उपत्यकाको हावामा तैरिएको धूलोधुवाँ उडाउने काम यिनै दुई प्रणालीको हो।

यी दुई मार्गबाट बिहान साढे ११ बजेपछि मात्र हावा प्रवेश गर्छ। जबकि, प्रदूषण बढाउने सवारीको प्रवेश बिहानैबाट हुन्छ। दिनभरि गुम्सिएको धूलोधुवाँ काठमाडौंले दैनिक ७५ प्रतिशत मात्र फ्याँक्न सक्छ, २५ प्रतिशत यहीँ बस्छ। यसरी प्रत्येक दिन थुप्रँदै जाने धूलोधुवाँ नै प्रदूषण बढाउने कारण हो।

यति मात्र होइन, साँझ हावाको गति ढिलो भएपछि धूलोधुवाँ बाहिर जाँदैन, हावामै तैरिएर बस्छ। तैरिएका कण जाडोमा झनै बाक्लिन्छ र प्रदूषण बढ्छ। यसरी प्रत्येक दिन थुप्रँदै जाने धूलोधुवाँ नै प्रदूषण बढाउने कारण हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed