![]()
काश्की । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा कप्तान पारस खड्काको टिम चितवन राइनोजले काठमाडौं रोयल्सलाई पराजित गरेको छ । पोखरा रंगशालामा भएको खेलमा चितवनले काठमाडौंलाई १३ रनले पराजित गरेको हो ।
१५० रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३६ रन मात्र बनाउन सक्यो । काठमाडौंका लागि गौरभ टोमरले ३९, कप्तान ज्ञानेन्द्र मल्लले ३०, पवन सर्राफले २८ र जयक्रिसन कोल्सवालाले १८ रन बनाए ।
कुनै बेला जित नजिक पुगेको काठमाडौंले अन्तिम ५ ओभरमा ४ विकेट गुमाएपछि हारबाट जोगिन सकेन । यता, चितवनले भने उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो । बलिङतर्फ चितवनका लागि करण केसीले ३ र कप्तान पारसले २ विकेट लिए ।
यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १४९ रन बनाएको थियो । चितवनका लागि हरिशंकर शाह ६० रन बनाए ।


