Breaking News.... EverestOnlineKhabar
May 1, 2026

राष्ट्रपति भण्डारी सोमबार कतार जाँदै, कात्तिक १५ गते स्वदेश फर्किने

Loading

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी ३७ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार  कतारको चार दिने औपचारिक भ्रमणमा जाँदैछिन् । दोस्रो पटक राष्ट्रपति भएपछि यो उनको पहिलो विदेश भ्रमण हो । पहिलो पटक राष्ट्रपति हुँदा उनले भारत, श्रीलंका, स्वीट्जरल्याण्ड र युनाईटेड अरब इमिरेट्स (युएई)को भ्रमण गरेकी थिइन् ।

राष्ट्रपतिको कतार भ्रमणमा २७ जना काठमाडौंबाट र १० जना कतारको दोहास्थित नेपाली दूतावासबाट सहभागी हुनेछन् । प्रतिनिधिमण्डलमा रहेका ५ सदस्य भने आइतबार नै कतार प्रस्थान गरिसकेको परराष्ट्रले जनाएको छ ।

कतारका अमिर शेख तामिम बिन हमद अल थानीको निमन्त्रणामा राष्ट्रपति भण्डारी कतार जान लागेकी हुन् । भ्रमणको बेला कात्तिक १३ गते राष्ट्रपति भण्डारी र कतारका अमिर थानीबीच उच्चस्तरीय द्विपक्षीय बैठक हुनेछ । बैठकमा नेपाल–कतार सम्बन्धका सबै मुद्दाहरुमा छलफल गरिने बताइएको छ । बैठक सकिएपछि राष्ट्रपति भण्डारीको सम्मानमा कतारका अमिरले भोजको आयोजना गर्नेछन् ।

भ्रमणका बेला कतार फाउण्डेसनका अध्यक्ष शेख मोजा विन्ट नासिरले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नेछिन् । कतारका अन्य उच्चस्तरीय पदाधिकारीले पनि राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

कतारमा रहँदा राष्ट्रपति भण्डारीले दोहास्थित नेपाली दूतावासको अवलोकन गर्नेछिन् । त्यहाँ उनले नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपतिको कतार भ्रमणका बेला नेपाल र कतारबीच भिसा र कृषिसम्बन्धी दुईवटा सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी गरिएको छ ।

कतार भ्रमण सम्पन्न गरी राष्ट्रपति भण्डारी कात्तिक १५ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed