Breaking News.... EverestOnlineKhabar
April 30, 2026

पाकिस्तानमा भारतीय टीभी च्यानलमाथि पुनः प्रतिबन्ध

Loading

बीबीसी । पाकिस्तानको सर्वोच्च अदालतले भारतका सबै टेलिभिजन च्यानलहरूमाथि पुनः प्रतिबन्ध लगाएको छ। एउटा तल्लो अदालतको आदेशलाई उल्टाउँदै सर्वोच्चले फेरि प्रतिबन्ध लगाउन आदेश दिएको हो।

प्रधानन्यायाधीश साकिब निसारले पाकिस्तान भएर बग्ने नदीहरूमा भारतले बाँध बनाउन लागेको भन्दै उसका टेलिभिजन च्यानलहरूमाथिको प्रतिबन्ध मुनासिब भएको बताए। भारतले ती बाँधहरूलाई एउटा अस्त्रको रूपमा प्रयोग गरिरहेको पाकिस्तानको आरोप छ। भारतले चाहिँ त्यो अस्वीकार गर्दै आएको छ।

भारतीय टेलिभिजन च्यानल र चलचित्रहरू पाकिस्तानमा पनि लोकप्रिय छन्, तर दुई देशबीचको तनावका बेला पाकिस्तानले तिनीहरूमाथि प्रतिबन्ध लगाउने गरेको छ।

लहोर उच्च अदालतको आदेश उल्टाएका प्रधानन्यायाधीश निसारलाई उद्धृत गर्दै भनिएको छ, “भारतले पाकिस्तान भएर बग्ने पानीको मात्रालाई सङ्कुचित गरिरहेको छ। हामीले उनीहरूका च्यानल किन बन्द नगर्ने?”

पाकिस्तानको ८० प्रतिशतभन्दा बढी सिचाइँ सिन्धु र त्यसका सहायक नदीको पानीमा निर्भर गर्दछ। सन् १९६५ मा भारत-पाकिस्तानबीच भएको युद्धपछि पाकिस्तानले पहिलो पटक भारतीय चलचित्रहरूमाथि प्रतिबन्ध लगाएको थियो। अन्ततः सन् २००८ मा त्यो प्रतिबन्ध फुकुवा गरियो, तर समयसमयमा प्रतिबन्ध लगाउने गरिएको छ।

सन् २०१६ मा विवादित काश्मीरमा प्रदर्शनकारीहरूमाथि भारतीय दमनपछि पाकिस्तानले पुनः भारतका सबै टेलिभिजन च्यानल तथा रेडियोहरूमाथि प्रतिबन्ध लगायो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed