![]()
काठमाडाैँ । विद्युतीय सवारी साधनको प्रयोगमा बढावा दिने गरी सरकारले अगाडि सारेको कार्ययोजनालाई लागू गर्न नेपाल विद्युत् प्राधिकरणले देशभर नै ‘चार्जिङ स्टेशन’ निर्माण गर्ने प्रक्रिया अगाडि बढाउने भएको छ । सडक पुगेको देशभरका सबैजसो स्थानमा प्राधिकरणको वितरण प्रणाली पनि पुगेकाले प्रवर्द्धनात्मक रुपमा त्यस्ता स्टेशन निर्माण गर्न लागिएको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधनको चार्जका लागि निकट भविश्यमा नै काठमाडौँ उपत्यकामा केही स्टेशन तयार गरिने बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन पहिले साझा यातायातले आयात गरेको विद्युतीय सवारीको उद्घाटन कार्यक्रममा प्राधिकरणले उपत्यकामा २० वटा स्टेशन बनाउने घोषणा गरेका थिए।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सो सम्बन्धमा आवश्यक तयारी गरिरहेको छ । एउटा बस चार्जका लागि कम्तीमा पनि ८० किलोवाट बराबरको विद्युत् आवश्यक पर्दछ । कार्यकारी निर्देशक घिसिङका अनुसार पेट्रोलपम्पजस्तै राजमार्गमा हरेक ३०/३० किलोमिटरमा र राजधानीमा पनि सहजरुपमा चार्ज गर्न मिल्ने गरी स्टेशन निर्माण गरिनु पर्दछ ।
राजमार्गका क्षेत्रमा पनि सहजरुपमा ‘चार्जिङ स्टेशन’ राख्न सकिने भएकाले निजी क्षेत्रसमेत यसमा आर्कषित हुने उनको भनाइ छ ।


