Breaking News.... EverestOnlineKhabar
May 1, 2026

पाकिस्तानमा बालिका बलात्कार गरी हत्या गर्नेलाई फाँसी

Loading

बीबीसी । पाकिस्तानमा बलात्कारपछि एक बालिकाको हत्या गरिएको घटनामा दोषी पाइएका एक जनालाई फाँसी दिइएको छ। गत ज्यानुअरीमा बलात्कार गरी ६ वर्षीया बालिका जैनब अन्सारीको हत्या गरिएको थियो। हत्या गरी फालिएकी जैनबको शव फोहोरको थुप्रोमा फेला परेको थियो।

घटनामा दोषी पाइएका २४ वर्षीय इमरान अलीलाई लहोरस्थित एउटा जेलमा बुधवार बिहानै फाँसी दिइएको प्रहरीले जनाएको छ। दोषीलाई फाँसी दिइएका बेला जैनबको परिवार र आफन्त पनि उपस्थित थिए।कसुर नगरमा बलात्कारपछि हत्या गरिएको जघन्य अपराधले पाकिस्तानमा व्यापक आक्रोश निम्याएको थियो र घटनाको विरोधमा देशभरि प्रदर्शनहरू भएका थिए।

दोषीलाई झुण्ड्याइएको दृश्य देखेका जैनबका बुवा आमीन अन्सारीले आफूलाई ‘राहत महसुस’ भएको प्रतिक्रिया दिए। उनले भने, जीवित भएको भए मेरी छोरी अहिले सात वर्ष दुई महिनाकी हुन्थी। बलात्कारीलाई झुण्ड्याइएको दृश्य टेलिभिजनमा नदेखाइएको भन्दै आमीनले दुःख व्यक्त गरे।

यसअघि आफ्नी छोरीको बलात्कारीलाई सार्वजनिक स्थानमा झुण्ड्याइनुपर्ने आमीनको माग लहोर उच्च अदालतले खारेज गरिदिएको थियो।गत ज्यानुअरी ४ मा बेपत्ता भएकी जैनबको शव हराएको पाँच दिनपछि फोहोरको थुप्रोमा भेटिएको थियो। छोरी हराएकोबारे प्रहरीमा उजुरी गरे पनि शव भेट्नु अघिसम्म प्रहरीले कुनै कदम नचालेको जैनबको परिवारले बताउने गरेको छ।

घटनापछि प्रहरीले नभइ जैनबका आफन्तले उनका अन्तिम क्रियाकलाप कैद भएको सीसीटीभीको फूटेज फेला पारेका थिए। एक व्यक्तिले बालिकालाई पछारिरहेको सीसीटीभीको फूटेज त्यसपछि सामाजिक सञ्जालमा भाइरल हुन पुग्यो।

मानिसहरूले #जस्टिस फर जैनब नामक अभियान चलाए र थुप्रै पाकिस्तानीहरू पीडित परिवारको न्यायको पक्षमा उत्रिए। जैनबको घर नजिकै बसोबास गर्ने इमरान अलीलाई प्रहरीले गत ज्यानुअरी २३ मा ‘डीएनए’ प्रमाणका आधारमा पक्राउ गरेको थियो।

जैनब

गत फेब्रअरीमा अदालतले इमरान अलीलाई जैनबको बलात्कार र हत्या गरेको अभियोगमा मृत्युदण्ड सुनाएको थियो। सो आदेशविरुद्ध उनले दिएको पुनरावेदन एउटा अदालतले खारेज गरिदियो। र, यसै महिनाको शुरूतिर पाकिस्तानी राष्ट्रपतिले पनि माफीका लागि गरिएको निवेदन अस्वीकार गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed