![]()
बीबीसी । अमेरिकी सेनाले मध्य सोमालियामा गरिएको एउटा कारबाहीमा अल-शबाब समूहका करिब ६० जना लडाकु मारिएको जनाएको छ। हरारडेरे नगर नजिकै ‘निश्चित निशानामा लक्षित’ आक्रमणमा कोही सर्वसाधारण घाइते वा नमारिएको अमेरिकी सेनाको एउटा वक्तव्यमा भनिएको छ।
सोमालियाको फौजसँग मिलेर अल-शबाबमाथि हमला गर्ने संयुक्त प्रयास अन्तर्गत पछिल्लो कारबाही गरिएको हो। सन् २०१७ को नोभेम्बरयताकै यो सबैभन्दा हिंसात्मक कारबाही भएको बताइएको छ।
गत नोभेम्बरमा गरिएको एउटा कारबाहीमा सयजना लडाकु मारिएको अमेरिकी सेनाले उल्लेख गरेको छ। अल-कायदासँग सम्बद्ध अल-शबाब समूहले पछिल्लो कारबाहीबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।
अमेरिकी अफ्रिकी कमाण्डले भनेको छ, “सोमाली र अन्तर्राष्ट्रिय साझेदारहरूसँगै हामी पनि अल-शबाबलाई सुरक्षित स्थानको फाइदा लिनबाट रोक्न प्रतिबद्ध छौँ।”
समाचार संस्था एपीका अनुसार यो वर्ष अमेरिकी सेनाले सोमालियामा ड्रोन आक्रमणसहित दुई दर्जनभन्दा बढी हवाई हमला गरेको छ।


