![]()
बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले साउदी अरेबियाका पत्रकार जमाल खशोग्गी बेपत्ता भएको सम्बन्धमा सबै तथ्यहरू थाहा नभएसम्म विश्वले साउदी नेताहरूको आलोचना गर्न नहुने बताएका छन्।
साउदी राजकुमार मोहम्मद बिन सलमानले टर्कीस्थित आफ्नो देशको वाणिज्य दूतावासमा के भएको हो भन्ने विषयमा आफूलाई कुनै जानकारी नभएको बताएको पनि ट्रम्पले उल्लेख गरे। दुई हप्ताअघि टर्कीको इस्तानबुलस्थित साउदी अरेबियाको वाणिज्य दूतावास गएदेखि पत्रकार खशोग्गी बेपत्ता छन्।
उनी खासगरी साउदी राजकुमार मोहम्मदका कतिपय नीतिका आलोचक थिए।
घटनाबारे कुराकानी गर्न आफ्ना विदेशमन्त्री माइक पोम्पेओलाई रियाद पठाएका राष्ट्रपति ट्रम्पले साउदी अरेबियामाथि आरोप लगाउने कुरा ‘निर्दोष साबित नहुञ्जेल दोषी’ भएजस्तो भएको टिप्पणी गरे। नाम उल्लेख नगरेका टर्कीका अधिकारीहरूका अनुसार साउदी वाणिज्य दूतावासमा गरिएको खोजतलासबाट खशोग्गीलाई त्यही मारिएको भन्नेबारे थप प्रमाण पाइएको छ।
पत्रकार बेपत्ता प्रकरणलाई लिएर साउदी अरेबिया आफ्ना नजिककै साझेदारहरूबाट दबाबमा परेको छ। अक्टोबर २ मा साउदी वाणिज्य दूतावास प्रवेश गर्ने बेलासम्म खशोग्गी सकुशल नै थिए।
तर साउदी अरेबियाले वाणिज्य दूतावासभित्र उनको हत्या गरिएको आरोप अस्वीकार गर्दै आएको छ र उनी त्यहाँबाट सकुशल बाहिरिएको बताउने गरेको छ। वाणिज्य दूतावासभित्रै खशोग्गीको हत्या गरिएको भन्ने टर्कीका अधिकारीहरूको आरोपलाई रियादले ‘झूट’को संज्ञा दिँदै आएको छ।
साउदी राजकुमार मोहम्मदसँग महत्त्वपूर्ण अधिकार छ र खशोग्गीलाई के भएको हो भन्ने कुरामा उनैलाई जिम्मेवार ठहर्याइँदैछ। आफ्नो पछिल्लो ट्वीटमा राष्ट्रपति ट्रम्पले लेखेका छन्, मैले राजकुमार मोहम्मदसँग टेलिफोनमा कुराकानी गरेँ र उनले टर्कीस्थित वाणिज्य दूतावासमा के भएको हो भन्नेबारे आफूलाई कुनै जानकारी रहेको कुरा पूर्ण रूपमा अस्वीकार गरेका छन्।


