![]()
काठमाडौं । राजाहरूले लगाउने श्रीपेच सर्वसाधारणको अवलोकनका लागि खुला गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार नारायणहिटी दरबार संग्रहालयामा आयोजित एक समारोहबीच उद्घाटन गरेसँगै श्रीपेचसहितका १२ वटा महत्वपूर्ण सामग्री पनि सर्वसाधारणले अवलोकन गर्न पाउने भएका छन्।
नारायणहिटी संग्रहालय पुग्ने सर्वसाधारणले अब सो संग्रहालयको सुर्खेत र रुपन्देही कक्षमा श्रीपेचसहितका दरबारका मुख्यमुख्य सामग्री राजदण्ड, रानीको मुकुट, तरबार, झारीलगायतका सामग्री पनि अवलोकन गर्न पाउनेछन्। सर्वसाधारणको अवलोकनका लागि राखिएको श्रीपेचमा ७३० वटा हिराको दाना, २ हजार ३७२ वटा मोतीका दाना, ४७ वटा पन्ना, १६ वटा मणिमाणिक्यजस्ता रत्न जडित छन्।
शाहवंशीय राजाहरूले शक्तिको प्रतिकको रूपमा श्रीपेच र राजदण्डलाई धारण गर्ने परम्परा थियो। पुरातत्व विभागमा महानिर्देशक भेषनारायण दाहालका अनुसार अवलोकनका लागि राखिएको श्रीपेच पूर्वराजा वीरेन्द्र शाहका लागि तयार गरिएको थियो। काठमाडौंका प्रेमलाल श्रेष्ठले २०२८ सालमा श्रीपेच तयार गरेका थिए।


