Breaking News.... EverestOnlineKhabar
May 2, 2026

बामदेव गौतमका कारण नेकपामा हल्लीखल्ली, प्रचण्ड र खनालबीचमै मत बाझियो

Loading

काठमाडौं । नेकपाका नेता बामदेव गौतम काठमाडौं ७ बाट चुनाव लडने वा नलडने बिषयलाई लिएर नेकपाभित्र हल्लीखल्ली मच्चिएको छ । काठमाडौं ७ का सांसद रामबीर मानन्धरले राजीनामा दिएर गौतमलाई उम्मेदवार बनाउने कुरो सार्वजनिक गरेपछि सो पार्टीका तल्लो कमिटीदेखि सचिवालय सदस्यसम्म पक्ष बिपक्षमा बाँडिएका थिए ।

सुरुमा गौतमलाई काठमाडौं ७ बाट चुनाव लडाउने तयारीसहित रणनीति बनाएका प्रचण्ड आफनो योजना असफल भएसंगै प्रधानमन्त्री केपी ओलीको प्रतिरक्षामा उत्रिएकाछन ।उनी अहिले ओली सरकारको पुनः खुलेर प्रशंसा गर्न थालेका छन । दाहालले गौतम र मानन्धरसंग सल्लाह गरी काठमाडौं ७ मा उपनिर्वाचन गराउने प्रस्ताव सचिवालय बैठकमा प्रस्तुत गरेका थिए ।

अहिले स्वयं नेता गौतमले काठमाडौं ७ मा निर्वाचन नलडने बताइसकेका छन । यो बेला अर्का वरिष्ठ नेता झलनाथ खनालले भने गौतमको चाहनाको सम्मान गर्नुपर्ने बताएका छन । यसले सो पार्टी भित्र कस्तो तनाव छ भन्ने सहजै अनुमान गर्न सकिन्छ ।

अध्यक्ष  दाहालले  वामदेव गौतम स्वयंले समेत आफूले चुनाव नलड्ने भनेकाले यसको चर्चा नै सकिएको दाबी गरेका छन्। गौतमको उम्मेदवारी सम्बन्धी चर्चा शुरू भएसँगै पार्टीभित्रै पक्ष-विपक्षमा कुराहरू उठेपछि प्रचण्डको पछिल्लो भनाइ आएको हो।

उता पूर्वप्रधानमन्त्री समेत रहेका पार्टीकै एकजना वरिष्ठ नेता  खनालले भने गौतमको प्रतिनिधिसभामा जाने इच्छाको सम्मान गर्न ‘अन्य कुनै सुरक्षित निर्वाचन क्षेत्रमा जान सकिने’ बताएका छन्।

उपनिर्वाचन गराएर उम्मेदवारीको चर्चा सुरु भएसँगै गौतम र उनकालागि सीट खाली गर्न लागेका काठमाडौं निर्वाचन क्षेत्र नम्बर सातका सांसद रामवीर मानन्धरको आलोचना पनि सुरु भएको थियो। त्यसबिचमा गौतम स्वयंले दुवै अध्यक्ष सहित पार्टीका कतिपय पदाधिकारीसँग छलफल समेत गरेका थिए।

अध्यक्ष दाहालले अब विकास निर्माणका काम छाडेर त्यस्ता काममा नअल्झिने बताउँदै कार्यकर्ताहरूलाई त्यसबाट चिन्तित नहुन आग्रह गरेका थिए। उनले भने, “रामवीरको राजिनामा, वामदेवले चुनाव लड्नेजस्ता के के कुरामा चिन्ता लिनुपर्दैन। पार्टीले निर्णय गर्छ तर अहिले हामी त्यस लफडातिर लाग्दैनौं। यो कुरा सकिएको छ।”

पूर्वप्रधानमन्त्री समेत रहेका  सचिवालय सदस्य झलनाथ खनालले आफूहरूसँग छलफल नगरिकनै सचिवालय वैठक सरिरहेकोमा असन्तुष्टि व्यक्त गरेका छन्। उनले पार्टीमा धेरै महत्वपूर्ण एजेन्डाहरूमा गम्भीर छलफल गर्नुपर्ने अवस्था आइसकेकाले अब सचिवालय वैठक मात्र नभई छिट्टै स्थायी समितिमा जानुपर्ने आवश्यकता औंल्याएका हुन्।

वामदेव गौतमको उम्मेदवारी समेत हाललाई सकिएको भन्दै अर्को सुरक्षित हुने निर्वाचन क्षेत्र खोजिनुपर्ने उनको सुझाव थियो। उनले भने, “एक ढंगले यो तरंग आयो र गयो जस्तो छ। अरू निर्वाचन क्षेत्रबाट त्यस्तो सम्भावनाहरू हुन सक्दछन्। प्रतिनिधि सभामा आउने इच्छा व्यक्त गरिरहंदा वामदेव कमरेडले उपयुक्त र सुरक्षित क्षेत्र कुन हो भन्ने चाहीं राम्ररी पहिल्याउनु आवश्यक छ।”

नेता गौतम र सभासद् रामवीर मानन्धर भने सम्पर्कमा आउन सकेनन्। पार्टीको गत बुधवार बस्ने भनिएको सचिवालय वैठक कात्तिक ४ र ५ गतेकालागि सारिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed