Breaking News.... EverestOnlineKhabar
May 2, 2026

Loading

बीबीसी । राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी पादरी एन्ड्रु ब्रन्सनको रिहाइका निम्ति टर्कीसँग कुनै गोप्य सम्झौता नभएको बताएका छन्। दुई वर्षभन्दा बढी समयदेखि टर्कीमा थुनामा रहँदै आएका ब्रन्सन टर्कीको पश्चिमी शहर इज्मीरबाट जर्मनी हुँदै अमेरिका जाँदैछन्। अमेरिकी सेनाको विमानमा उनी स्वदेश फर्किँदैछन्।

ट्रम्पले राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा सम्भवतः शनिवार ब्रन्सनलाई स्वागत गर्ने बताएका छन्। यसअघि टर्कीको एउटा अदालतले ब्रन्सनलाई तीन वर्षभन्दा बढी समयका लागि जेल सजाय सुनाएको थियो। तर सन् २०१६ मा नियन्त्रणमा लिइएयता सो समयावधि बिताइसकेकाले उनलाई अदालतले रिहा गर्‍यो।

प्रतिबन्धित गुलेनिस्ट आन्दोलनसहितका राजनीतिक समूहसँग सम्बन्ध रहेको अभियोगमा टर्कीमा सन् २०१६ को असफल सत्तापलटको प्रयासपछि ब्रन्सनलाई पक्राउ गरिएको थियो। जासुसीबारेका अरू अभियोगमा चाहिँ उनले सफाइ पाएका थिए।

एउटा विज्ञप्तिमा ब्रन्सनले भनेका छन्, “हाम्रो परिवारले जुन दिनका लागि प्रार्थना गरिरहेको थियो त्यो दिन हो यो। मेरो घर अमेरिका फर्किन लागेकोमा म हर्षित छु।”

उनले अगाडि भनेका छन्, “यो ठोस सहयोगका निम्ति मेरो सिङ्गो परिवार अमेरिकी राष्ट्रपति, प्रशासन र कंग्रेसलाई धन्यवाद दिन चाहन्छ।”

ओहायोको सिन्सिनाटीमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले ब्रन्सन स्वदेश फर्किन लागेकोमा आफूलाई ‘सम्मान’ महसुस भएको बताए। ट्रम्पले भने, “हामीसँग एउटा सुखद समाचार छ। पादरी एन्ड्रु ब्रन्सन टर्कीबाट स्वदेश फर्किरहेका छन्। ब्रन्सनले धेरै पीडा खेप्नुपर्‍यो तर धेरै मानिसप्रति हामी कृतज्ञ छौँ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed