Breaking News.... EverestOnlineKhabar
May 1, 2026

नेकपा सचिवालय बैठक आइतबार, वरिष्ठ नेता खनाल र नेपालको भूमिका के होला ?

Loading

काठमाडौं । नेकपाका वरिष्ठ नेता माधव नेपालले प्रदेश पदाधिकारी चयनको प्रक्रिया र मापदण्डप्रति चर्को असन्तुष्टि जनाएपछि सचिवालय बैठक आइतबार बोलाइएको छ। संयुक्त राष्ट्रसंघको महासभाबाट फर्केकै भोलिपल्ट प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग सल्लाह गरेर सचिवालय बैठकको मिति निर्धारण गरेका हुन्।

अध्यक्ष दाहालसँगको भेटमा प्रधानमन्त्री ओलीले आफू विदेशमा रहेका बेला सरकार र पार्टी नेतृत्वप्रति नेता नेपालले असन्तुष्टि जनाएको भन्दै चित्त दुःखाएको बुझिएको छ । ‘माधव नेपाललाई सम्झाउँदै गर्नुहोला, सचिवालय बैठक बसौं’, ओलीले दाहाललाई भनेका थिए।  दाहालले तल्लो तहसम्म एकताको काम नहुँदा तथा सरकारको कार्यशैलीले आम कार्यकर्ता र जनतामा निरासा उत्पन्न भएको भन्दै प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका थिए।

अध्यक्षद्वय ओली र दाहाल विदेशमा रहेका बेला वरिष्ठ नेता माधव नेपालले स्थायी समितिका सदस्यहरूको भेला गरेर प्रदेशका पदाधिकारी चयनको निर्णयप्रति लिखित रूपमै असहमति जनाएका थिए।

१२ दिने राष्ट्रसंघको सम्मेलनबाट अध्यक्ष ओली बिहीबार स्वदेश फर्केका हुन् भने अर्का अध्यक्ष दाहाल पनि पत्नी सीताको उपचार गरी बुधबार मात्र स्वदेश फर्केका हुन्।

वरिष्ठ नेता नेपाल अफ्रिकी मुलुक घाना गएका बेला असोज ५ मा बसेको सचिवालय बैठकले सातवटै प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव तोकेको थियो। आफू विदेशमा रहेका बेला पदाधिकारी नतोक्ने र उक्त निर्णय स्थायी समिति बैठकबाट मात्र गराउने बचन अध्यक्ष ओलीले दिए पनि त्यसको पालना नगरेको भन्दैै वरिष्ठ नेता नेपालले सार्वजनिक रूपमै असन्तुष्टि जनाएका थिए।

सचिवालय बैठकमा अर्का वरिष्ठ नेता झलनाथ खनालको असन्तुष्टिको बिषयले पनि प्रवेश पाउने निश्चित छ । पार्टी वरियतामा आफूमाथि अन्याय गरेको भन्दै असन्तुष्टि जनाउँदै आएपनि खनालको माग सम्बोधन हुन सकेको छैन ।

अध्यक्षद्वय ओली र दाहाल खनालको कुरा सुन्यो कि तर्किने गरेका छन । उनीहरुले गर्ने बेलामा निर्णय भैहाल्यो, अब खनाल जीलाई फेस गर्नै नसकिने भयो भनेर आफू निकटका नेताहरुसंग दुःख बिसाउने गरेका छन । माधव नेपालले संसदमा सरकार र प्रधानमन्त्रीको बिरोध गर्दै स्थायी समिति सदस्यहरुको भेलासमेत बोलाएपछि ओली र दाहालले उनलाई खनालमाथिको ओहदा दिएकोमा पश्चाताप गरिरहेको बुझिएको छ । यो कुरामा महासचिव बिष्णु पौडेलले समेत गल्ति भएको महसुस गर्न थालेका छन ।

आइतबारको सचिवालय बैठकमा नेता खनालसंगै नेपालपनि कडारुपमा प्रस्तुत भए अध्यक्ष ओली र दाहालका निम्ति परिस्थिति सहज नहुने सहजै अनुमान गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed