![]()
बीबीसी । यस वर्षको भौतिकशास्त्र तर्फका नोबेल पुरस्कार संयुक्त राज्य अमेरिकाका नागरिक आर्थर एस्किन, फ्रान्सेली जेरार्ड माउरो र क्यानडाकी डोन्ना स्ट्रिकल्याण्डले पाउने भएका छन्।
‘लेजर फिजिक्स’को क्षेत्रका काम गरिरहेका एस्किन, माउरो र स्ट्रिकल्याण्डलाई सोही विधामा पुरस्कार प्रदान गरिएको जनाइएको छ।
रोयल स्वीडिस एकाडेमी अफ साइन्सको विशेष कमिटीले चिकित्सादेखि अप्टिकल फाइबरसम्म महत्वपूर्ण योगदान गरेको लेजर फिजिक्सका अध्योताहरुलाई यस वर्षको भौतिकशास्त्रको नोबेल पुरस्कार प्रदान गरिने जनाएको छ।
पुरस्कारको राशि एस्किनले ५० प्रतिशत र स्ट्रिकल्याण्ड र माउरोले २५–२५ प्रतिशत प्राप्त गर्ने छन्। सन् १९०१ देखि प्रदान गर्न थालिएको भौतिकशास्त्रको नोबेल पुरस्कार प्राप्त गर्ने स्ट्रिकल्याण्ड क्यानडाकी पहिलो महिला हुन्।
५५ वर्षीया स्ट्रिकल्याण्डले लामो समयदेखि भौतिक विज्ञानको क्षेत्रमा शोध, अध्ययन अनुसन्धान गर्दै आएकी छिन्। यसअघि सन् १९०३ मा म्यारी क्वुरी र मारिया जोएप्पोएर्ट मेयरले सन् १९६३ मा भौतिकशास्त्रमा नोबेल पुरस्कार जितेका थिए।


