![]()
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कोस्टारिकाका राष्ट्रपति कार्लोस अलभारादो क्वेसाडाबीच भेटवार्ता भएको छ। कोस्टारिकाको भ्रमणमा रहेका प्रधानमन्त्री ओली र राष्ट्रपति क्वेसाडाबीच राजधानी सान होजेमा भेट भएको हो।
भेटमा अन्तर्राष्ट्रिय शान्ति, कृषि, मौसम परिवर्तनबाट उत्पन्न चुनौतिबारे छलफल हुनुका साथै द्विदेशीय सहकार्य गर्ने सहमति समेत भएको छ। त्यसपछि अायोजित संयुक्त पत्रकार सम्मेलनमा ओलीले/ कोस्टारिकाले आर्थिक, वातावरण संरक्षण, मानवअधिकार लगायत विषयमा उल्लेखनीय प्रगति गरेको भन्दै सराहना गरे। साथै, पिरिस जलविद्युत् परियोजना तथा वायुऊर्जा संयन्त्र हेर्ने अवसर पाएको उनले उल्लेख गरे।
त्यसअघि, सान होजेस्थित शान्ति विश्वविद्यालय (युनिभर्सिटी फर पीस)ले प्रधानमन्त्री केपी ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको थियो। विश्वविद्यालयले नेपालमा शान्ति स्थापना र प्रजातन्त्रका लागि ओलीको योगदानको कदर गर्दै उनलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको थियो।
मानार्थ विद्यावारिधि प्रदान गर्न आयोजित समारोहमा प्रधानमन्त्री ओलीले आफूलाई दिइएको उपाधि नेपालको शान्ति प्रक्रियाको सफलता तथा शान्ति चाहने नेपाली जनताको सम्मान भएको बताएका थिए।


