![]()
काठमाडौं ।नेकपाका वरिष्ठ नेता एवम पूर्व प्रधानमन्त्री झलनाथ खनालले पार्टी सन्चालन पद्धती र सरकार सन्चालन विधिमा सुधार नगरे नेकपा नामको डुंगा दुर्घटनामा पर्ने चेतावनी दिनुभएको छ । सरकारको कार्यशैलीप्रति सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र असन्तुष्टि चुलिँदै गएका बेला खनालको यो अभिव्यक्ति आएको हो ।
राष्ट्रपति चयन र पार्टी वरियतामा आफूमाथि अन्याय भएको भन्दै नेतृत्वसंग असन्तुष्ट खनालकोको पछिल्लो भनाईले सरकारको मात्र होइन बलियो भनिएको पार्टी नेकपाको भविश्यमाथि समेत प्रश्न उठाएको छ ।
पार्टीका अर्का वरिष्ठ नेता माधव नेपालले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल बिदेशमा रहेकाबेला राजनीतिक चलखेल गरेपछि पार्टी भित्रको असन्तोष झन छताछुल्ल भएको थियो । संख्यात्मक हिसाबले नेकपा पार्टी ठूलो देखिएपनि भित्रभित्रै धुजाधुजा भैसकेको नेताहरुका अभिव्यक्ति र गतिविधिबाट प्रष्ट भएको छ । यहीबेला पार्टीको अवस्था मुल्याङ्कन गर्दै नेता खनालले बोलेको कुरालाई गम्भीर रुपमा लिइएको छ । उनको भनाईले पार्टी कुन अवस्थामा छ भन्ने प्रष्ट पारेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा सरकार बनेको सात महिना पूरा भएको छ भने तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएर नेकपा बनेको पनि पाँच महिना बित्न लागेको छ । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको कार्यशैली सन्तोषजनक नभएको भन्दै पार्टीका वरिष्ठ नेताहरु नै सार्वजनिकरुपमा आलोचना गरिरहेका छन् । तरपनि प्रधानमन्त्रीको कार्यशैली सुध्रने संकेत भने देखिएको छैन ।
नेता खनालले सरकारको क्रियाकलाप सन्तोषजनक नभएको भन्दै कार्यशैली सुधारमा दिनुभएको छ । पार्टी एकीकरण भएकै दिन तल्ला तहका सबै कार्यसमिति भंग गरिदिएकाले अलमल भइरहेको उहाँको भनाइ छ । नेता खनाल यसले पार्टीलाई अहित गर्ने भन्दै जतिसक्दो चाँडो तत्लो तहसम्म एकता प्रक्रियालाई टुंग्याउन माग गर्नुभएको छ ।
नेता खनाल जसरी आफू खुशी निर्णय गर्ने दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालप्रति असन्तुष्ट हुनुहुन्छ, त्यस्तै माधव नेपालका पछिल्ला गतिविधिबाट पनि उहाँ खुशी नभएको बुझिएको छ ।


